‘हार्दा पनि विकासमै सक्रिय रहेँ’— डिनाको आग्रह: यसपटक जिताएर पाँच वर्ष सेवा गर्ने मौका दिनुस्

हेटौंडा – मकवानपुर क्षेत्र नम्बर १ की प्रतिनिधिसभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ले चुनाव हार्दा पनि जिल्लाको विकास र समृद्धिका लागि निरन्तर सक्रिय रहेको बताउँदै यसपटक जिताएर सेवा गर्ने अवसर दिन मतदातासँग आग्रह गरेकी छन्।

सोमबार नेपाली कांग्रेस हेटौंडा–८ नम्बर वडा समितिले आयोजना गरेको क्रियाशील सदस्यहरूसँगको छलफल कार्यक्रममा बोल्दै उनले आफू सांसद बन्नकै लागि विकल्प खोज्नेभन्दा जनताबाट प्रत्यक्ष अनुमोदित भएर आउने लक्ष्यसहित मैदानमा उत्रिएको स्पष्ट पारिन्।

“मलाई सांसद बन्नका लागि अन्य विकल्प पनि थिए। राष्ट्रियसभा सदस्य बन्ने प्रस्तावसमेत आएको थियो,” उनले भनिन्, “तर म जनताबाट निर्वाचित भएर आउन चाहन्छु। त्यसैले अन्तिम पटक प्रतिस्पर्धामा उत्रिएकी हुँ।”

निवर्तमान केन्द्रीय सहमहामन्त्री समेत रहेकी उपाध्यायले बद्लिएको कांग्रेसले मुलुक परिवर्तनको अभियानसहित देशभर उम्मेदवारी दिएको दाबी गरिन्। पार्टी नेतृत्व, मकवानपुरका नेताहरू र मतदाताको आग्रहमा आफू पुनः चुनावी मैदानमा आएको उल्लेख गर्दै उनले यसपटक मकवानपुरसहित देशभर कांग्रेसको जित सुनिश्चित हुने विश्वास व्यक्त गरिन्।

“पदमा नहुँदा पनि म जिल्लाको विकासका लागि लागिरहेँ। अब जितेर पाँच वर्ष जनतासँगै बसेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्छु,” उनले भनिन्।

कार्यक्रममा कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपानेले परिवर्तनशील कांग्रेसले अब देश परिवर्तन गर्ने दाबी गरे। मकवानपुरको विकास र समृद्धिका लागि दुवै निर्वाचन क्षेत्रमा कांग्रेसलाई जिताउनुपर्नेमा जोड दिँदै उनले युवा नेता गगन थापालाई प्रधानमन्त्री बनाउन पनि पार्टीलाई बहुमत आवश्यक रहेको बताए।

कांग्रेस हेटौंडा–८ का निर्वाचन परिचालन समिति संयोजक हरिप्रसाद वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि रामकृष्ण कोइराला, कार्यबाहक वडा सभापति शम्भुप्रसाद दुलाललगायतले वडामा कांग्रेसको पक्षमा सकारात्मक माहोल बनेको दाबी गर्दै मतान्तर बढाउने रणनीतिसहित घरदैलो अभियान तीव्र बनाउन कार्यकर्तालाई आग्रह गरे।

कार्यक्रममा समानुपातिक उम्मेदवार सर्मिला श्रेष्ठ, पवित्रा विश्वकर्मा तथा कांग्रेस मकवानपुरका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.