फागुन १ देखि मार्जिन कारोबार लागू : सेबोनले तोक्यो नयाँ मापदण्ड र सर्तहरू

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मार्जिन कारोबार सम्बन्धी नयाँ निर्देशन २०८२ स्वीकृत गर्दै फागुन १ गतेदेखि कार्यान्वयनमा ल्याउने भएको छ। यसअघि सार्वजनिक गरिएको प्रारम्भिक मस्यौदामा प्राप्त सुझाव समेटेर बोर्डले अन्तिम निर्देशिका जारी गरेको हो।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८७(१) बमोजिम अधिकार प्रयोग गर्दै जारी गरिएको यो निर्देशनमार्फत धितोपत्र दलाल व्यवसायीले लगानीकर्तालाई मार्जिन कारोबार सुविधा दिन सक्नेछन्। यसअघि २०७४ मा जारी गरिएको निर्देशन कार्यान्वयनमा आउन नसकेपछि नयाँ व्यवस्था ल्याइएको हो।

कुन सेयर योग्य?

कम्तीमा २५ लाख कित्ता सर्वसाधारण सेयर सूचीकृत भएको, नेटवर्थ चुक्ता पुँजी बराबर वा बढी भएको, पछिल्ला तीन वर्षमध्ये कम्तीमा दुई वर्ष नाफा कमाएको र आईपीओपछि कम्तीमा दुई वर्ष पूरा गरेको सूचीकृत कम्पनीको सेयर मात्र मार्जिनका लागि योग्य हुनेछन्।

ब्रोकरका लागि सर्त

मार्जिन सुविधा दिन चाहने धितोपत्र दलाल व्यवसायीको चुक्ता पुँजी न्यूनतम २० करोड रुपैयाँ हुनुपर्नेछ। उनीहरू राफसाफ सदस्य, निक्षेप सदस्य (वा सम्बन्धित कम्पनीमार्फत) हुनुपर्ने व्यवस्था गरिएको छ।

प्रारम्भिक र सम्भार मार्जिन

सेयरको बजार मूल्यको कम्तीमा ३० प्रतिशत रकम प्रारम्भिक मार्जिनका रूपमा अनिवार्य।

न्यूनतम २० प्रतिशत सम्भार (मेन्टेनेन्स) मार्जिन कायम गर्नुपर्ने।

दैनिक ‘मार्क टु मार्केट’ आधारमा मूल्यांकन।

मूल्य बढे पनि थप ऋण सुविधा दिन नपाइने।

मार्जिन कल र सेयर बिक्री

सेयरको मूल्य घटेर आवश्यक सम्भार मार्जिन कायम नभएमा ब्रोकरले ‘मार्जिन कल’ गर्नेछ। तोकिएको समयभित्र रकम थप नगरेमा ब्रोकरले सेयर बिक्री गर्न सक्नेछ। बिक्रीपछि हिसाब फर्छ्यौट गरी धितोपत्र बजारलाई जानकारी गराउनुपर्नेछ।

लगानीकर्ताले सम्भार मार्जिन कायम गर्न नसकेमा ‘ए’, ‘बी’ र ‘जी’ वर्गका सूचीकृत कम्पनीको सेयर धितो राख्न सकिनेछ, तर त्यस्ता सेयरको बजार मूल्यको ६० प्रतिशत मात्र गणना गरिनेछ।

कोष स्रोत र सीमा

ब्रोकरले आफ्नै स्रोत, बैंक ऋण वा सेयरधनी/सञ्चालकबाट असुरक्षित ऋण लिएर मार्जिन सुविधा दिन सक्नेछन्। तर यस्तो ऋण ब्रोकरको नेटवर्थको ४.५ गुणाभन्दा बढी हुन पाइने छैन।

ब्रोकरले आफ्नो प्रमाणित नेटवर्थको अधिकतम पाँच गुणासम्म मार्जिन सुविधा दिन पाउनेछन्। कुनै एक ग्राहक (वा सम्बन्धित समूह) लाई कुल मार्जिन सुविधाको १० प्रतिशतभन्दा बढी दिन नपाइनेछ।

खाता र राफसाफ व्यवस्था

मार्जिन कारोबारका लागि लगानीकर्ताले छुट्टै मार्जिन खाता र हितग्राही खाता खोल्नुपर्नेछ। राफसाफ सदस्य ब्रोकरले केन्द्रीय निक्षेप कम्पनीमा छुट्टै मार्जिन राफसाफ खाता सञ्चालन गर्नुपर्नेछ।

मार्जिन कारोबारको अवधि बढीमा एक वर्षको हुने र आवश्यक परे नवीकरण गर्न सकिने व्यवस्था निर्देशिकामा गरिएको छ।

सेबोनका अनुसार नयाँ निर्देशिकाले जोखिम व्यवस्थापन, पारदर्शिता र बजार अनुशासनलाई बलियो बनाउँदै नियन्त्रित ढंगले मार्जिन कारोबार सञ्चालन गर्ने आधार तयार गर्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.