काठमाडौं जिल्ला प्रशासन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र वरपरका क्षेत्रमा एक महिनासम्म प्रदर्शन, धर्ना, जुलुस तथा सामूहिक भेला गर्न रोक लगाएको छ। पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं फर्कने तयारी भइरहेका बेला उक्त निर्णय सार्वजनिक गरिएको हो।
प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) अनुसार माघ २९ गतेदेखि आदेश लागू हुने उल्लेख छ। आदेशअनुसार गोल्डेन गेटदेखि विमानस्थल परिसरभित्रका सबै सडक, आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङ स्थललगायत सम्पूर्ण विमानस्थल हाताभित्र पाँच जनाभन्दा बढी व्यक्ति भेला भई कुनै पनि प्रकारका विरोध कार्यक्रम गर्न पाइने छैन।
राजसंस्था पुनःस्थापनाको पक्षमा रहेका विभिन्न दल तथा संघ–संस्थाले फागुन १ गते पूर्वराजाको स्वागत गर्ने तयारी गरिरहेका छन्। सम्भावित भीडभाड र प्रदर्शनलाई ध्यानमा राख्दै प्रशासनले सुरक्षा सतर्कता बढाएको हो।
सूचनामा अन्तर्राष्ट्रिय विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा भेला तथा विरोधका कार्यक्रम हुँदा सुरक्षा जोखिम बढ्ने, सार्वजनिक सेवा प्रवाहमा अवरोध पुग्ने, यातायात व्यवस्थापन प्रभावित हुने तथा तोडफोड वा आगजनीजस्ता अवाञ्छित गतिविधि हुन सक्ने उल्लेख गरिएको छ। प्रशासनले आदेशको पालना गर्न सबैलाई अनुरोध गरेको छ।


































