२०८० सालमा प्रदर्शन हुँदा व्यावसायिक र वैचारिक दुवै हिसाबले चर्चामा आएको फिल्म ‘दिमाग खराब’ पुनः बहसको केन्द्रमा आएको छ। करिब ९ करोड रुपैयाँ ग्रस व्यापार गरेको यो फिल्म गत शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। देश चुनावी प्रक्रियामा प्रवेश गरिरहेको समयमा यसको डिजिटल रिलिजलाई धेरैले अर्थपूर्ण रूपमा व्याख्या गरेका छन्।
फिल्मले वैकल्पिक राजनीति र स्वतन्त्र उम्मेदवारको पक्षमा सन्देश दिने प्रयास गरेको भन्दै प्रदर्शनकालमै व्यापक छलफल भएको थियो। अहिलेको राजनीतिक परिवेशसँग फिल्मको विषयवस्तु मिल्दोजुल्दो देखिएकाले दर्शकमाझ यसले फेरि चासो जगाएको छ। तीन दिनमै १४ लाखभन्दा बढी भ्युज पाएको फिल्मलाई सामाजिक सञ्जालमा धेरैले बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीसँग जोडेर प्रतिक्रिया जनाइरहेका छन्।
केही दर्शकले यसलाई वैकल्पिक राजनीतिक धारलाई ऊर्जा दिने सामग्रीका रूपमा बुझेका छन् भने केहीले यसलाई चुनावी सन्दर्भसँग जोडेर टिप्पणी गरेका छन्। समय सान्दर्भिक अवस्थामा फिल्म युट्युबमा ल्याइएको भन्दै निर्देशक निश्चल बस्नेतलाई धन्यवाद दिनेहरू पनि प्रशस्त छन्।
निर्देशक बस्नेत बालेन शाहका निकट मानिन्छन् र अघिल्लो स्थानीय निर्वाचनमा उनलाई समर्थन गरेका थिए। आगामी निर्वाचनमा समेत उनको समर्थन बालेनतर्फ नै रहने सार्वजनिक अभिव्यक्ति आइसकेको छ। यही पृष्ठभूमिमा ‘दिमाग खराब’ को डिजिटल रिलिजलाई लिएर विभिन्न कोणबाट विश्लेषण भइरहेका छन्।
रौनक विक्रम कडेल निर्माता तथा सुरज बम ठकुरी कार्यकारी निर्माता रहेको यस फिल्ममा निश्चल बस्नेतसहित दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, विजय बराल, पुष्कर गुरुङ, माओत्से गुरुङ, सुमन कार्की र रमा थपलियालगायत कलाकारहरूको अभिनय रहेको छ। निर्देशक बस्नेतले २०८३ सालमा यसको सिक्वेल निर्माण गर्ने घोषणा पनि गरिसकेका छन्।


































