निर्वाचन आयोग ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र ढुवानी कार्यलाई तीव्र बनाएको छ। आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाका अनुसार कर्णाली प्रदेशका १० जिल्लामा मतपत्र पठाउने काम सम्पन्न भइसकेको छ।
आज सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालीकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतमा मतपत्र ढुवानी गरिएको हो। दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर वितरण अघि बढाइएको आयोगले जनाएको छ।
प्रत्यक्षतर्फको निर्वाचन प्रणाली अन्तर्गत हालसम्म ५८ जिल्लाका १ सय २४ निर्वाचन क्षेत्रका लागि आवश्यक मतपत्र छपाइ सम्पन्न भइसकेको छ। ती जिल्लाका लागि १ करोड ५७ लाखभन्दा बढी मतपत्र छापेर रुजु तथा प्याकिङ गरिसकिएको छ।
प्रत्यक्षतर्फ कुल २ करोड ३ लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगको तयारी छ। समानुपातिकतर्फका मतपत्र भने यसअघि नै छापेर प्याकिङ गरिसकिएको छ।
आयोगले फागुन १२ गतेभित्र सबै १ सय ६५ निर्वाचन क्षेत्रमा मतपत्र पुर्याउने लक्ष्य राखेको छ।
मतपत्र छपाइको जिम्मेवारी जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीले लिएको छ। केन्द्रले दैनिक १५ लाख मतपत्र छापिरहेको जनाइएको छ।


































