थाहा नगरका नेता जयराम लामिछानेको दाबी: बदलिएको कांग्रेसले देश बदल्छ

०१ फागुन_मकवानपुर/ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा थाहा नगरपालिकाका नेता जयराम लामिछानेले पार्टीको नयाँ अभियान “बदलियो कांग्रेस, बदल्छौँ देश” नारासहित कांग्रेस रूपान्तरणको मार्गमा अघि बढिसकेको दाबी गरेका छन्। आउँदै गरेको फागुन २१ गतेको आसन्न निर्वाचनलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले देशको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन्।

मकवानपुरको थाहा नगरपालिकासँग प्रत्यक्ष रूपमा जोडिएका लामिछानेले स्थानीय तहदेखि संघीय राजनीतिसम्म परिवर्तनको आवश्यकता औंल्याउँदै देश सञ्चालन स्टन्ट वा खोक्रो नाराले सम्भव नहुने स्पष्ट पारे। राष्ट्र सञ्चालनका लागि सुदृढ परराष्ट्र सम्बन्ध, स्पष्ट आर्थिक नीति, रोजगारी सिर्जना, उद्योग–धन्दा तथा व्यवसाय प्रवर्द्धन र मौलिक हकको संरक्षणजस्ता विषयमा संवेदनशील र जिम्मेवार नेतृत्व आवश्यक रहेको उनको भनाइ छ। “देश गरिबीमा चल्दैन, देश अस्थिरतामा चल्दैन,” उनले उल्लेख गरेका छन्।

विगतमा पार्टीले गरेका केही गठबन्धन तथा अस्वाभाविक मन्त्रिमण्डल गठनमा सहभागी हुँदा भएका कमजोरी स्वीकार गर्दै उनले त्यसबाट पाठ सिकेर पार्टी दोस्रो महाधिवेशनपछि नयाँ ढंगले अघि बढेको बताए। देशमा भइरहेका विभिन्न राजनीतिक घटनाक्रमलाई स्मरण गर्दै उनले कांग्रेस कुनै पनि गलत प्रवृत्तिको पक्षमा नलागी लोकतान्त्रिक मूल्य र मान्यताअनुसार आम निर्वाचनमा सहभागी भएको स्पष्ट पारे।

लामिछानेले युवा नेता गगन कुमार थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएको प्रसंग उल्लेख गर्दै कांग्रेसका नेताहरू जनताको शासक नभई सेवकको रूपमा काम गर्न प्रतिबद्ध रहेको बताए। मकवानपुरबाट प्रतिनिधित्व गर्ने उम्मेदवारहरू—अनुभवी महिला नेतृत्व डिना उपाध्याय र शालीन नेता  बुद्द लामा—लाई मतदान गरी क्षेत्रका विकास र जनआवश्यकता पूरा गर्न उनले मकवानपुरवासी, विशेषगरी थाहा नगरवासीलाई आग्रह गरेका छन्।

परराष्ट्र सम्बन्धका सन्दर्भमा उनले शक्तिशाली देश चीनसँग नेपालको सगरमाथाको पहिचान स्थापित गर्न सफल भएको र विशाल राष्ट्र भारतसँग सुमधुर सम्बन्ध कायम राख्न कांग्रेस सक्षम रहेको दाबी गरे।

गत भदौ २३ र २४ गतेका घटनाले व्यवसायीहरूको मनोबल खस्किएको उल्लेख गर्दै उनले अब आर्थिक पुनरुत्थानको दिशामा अघि बढ्नु अपरिहार्य रहेको बताए। थाहा नगरपालिका तथा मकवानपुरका स्थानीय उद्योग–व्यवसायलाई सबल बनाउँदै नेपालमै व्यापक रोजगारी सिर्जना गर्न कांग्रेस मात्र सक्षम रहेको उनको भनाइ छ।

अन्त्यमा, लामिछानेले थाहा नगरपालिका, मकवानपुरसहित देशभरका मतदातालाई लोकतन्त्रको सुदृढीकरण, आर्थिक समृद्धि र स्थिर शासनका लागि नेपाली कांग्रेसलाई मतदान गर्न अपिल गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.