हेटौंडा — मौसममा चिसो घट्दै जाँदा मकवानपुरको चुनावी सरगर्मी भने दिनानुदिन चर्किँदै गएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरू मतदाताको दैलो–दैलो पुग्न व्यस्त छन्।
मकवानपुर–१ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार रामेश्वर राना यतिबेला घरदैलो अभियानमा सक्रिय देखिन्छन्। उनी शुक्रबार हेटौंडा उपमहानगरपालिका–१६ र १८ नम्बर वडामा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाटमा जुटे। टोल–टोलमा पुगेका रानालाई स्थानीयले स्वागत गर्दै विकास, सुशासन र स्थायित्वप्रति आफ्ना अपेक्षा राखेका थिए।
स्थानीय बासिन्दाले विगतमा जिल्लास्तरमा उनले खेलेको भूमिकालाई स्मरण गर्दै अनुभवी नेतृत्वको आवश्यकता औंल्याएका थिए। मतदातासँगको संवादमा रानाले लोकतन्त्र सुदृढीकरण, विकासको निरन्तरता र जनउत्तरदायी शासन आफ्नो प्रमुख एजेन्डा भएको बताए।
पूर्व जिल्ला विकास समिति मकवानपुरका सभापति भइसकेका राना लामो समय प्रत्यक्ष चुनावी प्रतिस्पर्धाबाट टाढा रहेपछि करिब १८ वर्षपछि पुनः प्रतिनिधिसभा निर्वाचनमा होमिएका हुन्। समर्थकहरूका अनुसार दुर्गम क्षेत्रसम्म सडक सञ्जाल विस्तार, दीर्घकालीन विकास योजना निर्माण र संगठन सुदृढीकरणमा उनले महत्वपूर्ण भूमिका खेलेका थिए।
मकवानपुर–१ मा हेटौंडा उपमहानगरपालिकाका १५ वडा, बकैया, बागमती गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाका ४ वडा समेटिएका छन्। ४० वडा रहेको यस क्षेत्रमा १३ राजनीतिक दल र १० स्वतन्त्रसहित २३ जना उम्मेदवार प्रतिस्पर्धामा छन्, जसमध्ये ५ जना महिला उम्मेदवार रहेका छन्।
निर्वाचन मिति नजिकिँदै जाँदा मतदाताको चासो र उम्मेदवारहरूको सक्रियताले हेटौंडाको चुनावी माहोल अझै उत्साहपूर्ण बन्दै गएको छ। परिणाम जे आए पनि मकवानपुर–१ को प्रतिस्पर्धा यसपटक रोचक हुने संकेत देखिएको छ।


































