आज देशभर श्रद्धा र भक्तिभावका साथ महाशिवरात्रि पर्व मनाइँदै, मकवानपुरका शिव मन्दिरमा भक्तजनको घुइँचो

हेटौँडा । फाल्गुन कृष्ण चतुर्दशीका अवसरमा मनाइने महाशिवरात्रि पर्व आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ । यस अवसरमा मकवानपुर जिल्लाका विभिन्न शिव मन्दिरमा बिहानैदेखि भक्तजनको उल्लेखनीय भीड लागेको छ ।

हेटौँडास्थित वनस्खण्डी शिव मन्दिर, भूतदेवी मन्दिरत्रिवेणी धाम लगायतका धार्मिक स्थलमा विशेष पूजाआराधना तथा भजनकीर्तन आयोजना गरिएको छ ।

भक्तजनहरू बिहानै नदी, कुण्ड तथा धारामा स्नान गरी शिवालयमा पुगेर दूध, धतुरो र बेलपत्र अर्पण गर्दै व्रत बसेका छन् । रातभर जाग्राम बस्ने तथा चार प्रहर पूजा गर्ने परम्पराअनुसार मन्दिरहरूमा विशेष तयारी गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

महाशिवरात्रिका अवसरमा राजधानीस्थित पशुपतिनाथ मन्दिर मा जस्तै मकवानपुरका शिवालयहरूमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ । मन्दिर परिसरमा स्वयंसेवक परिचालन गरी दर्शनार्थीको सहज व्यवस्थापन गरिएको छ ।

धार्मिक विश्वासअनुसार आजको दिन उपवास गरी विधिपूर्वक भगवान् शिवको पूजा–आराधना गरे सुख, शान्ति तथा समृद्धि प्राप्त हुने जनविश्वास छ । मकवानपुरसहित देशभरका शिव मन्दिरमा साँझ विशेष आरती, दीप प्रज्वलन तथा प्रसाद वितरण कार्यक्रमसमेत आयोजना गरिएको छ ।

किन मनाइन्छ महाशिवरात्रि ?

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रि प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइन्छ । धार्मिक विश्वासअनुसार यही रात भगवान् शिव ज्योतिर्लिङ्ग स्वरूपमा प्रकट हुनुभएको थियो । त्यसैले मध्यरातलाई विशेष महत्व दिँदै चतुर्दशी तिथि परेको दिन देशभर श्रद्धा र भक्तिपूर्वक शिवरात्रि मनाउने परम्परा रहिआएको छ ।

धर्मग्रन्थ विशेषगरी शिव पुराण मा उल्लेख भएअनुसार भगवान् शिवले यसै रात ब्रह्माण्डको कल्याणका लागि दिव्य स्वरूप धारण गर्नुभएको विश्वास गरिन्छ । कतिपय धार्मिक मान्यताअनुसार यही दिन भगवान् शिव र पार्वती को विवाह सम्पन्न भएको पनि मानिन्छ । त्यसैले यो पर्व दाम्पत्य सुख, समृद्धि र पारिवारिक कल्याणसँग समेत जोडिएको छ ।

महाशिवरात्रिलाई आध्यात्मिक साधनाको विशेष अवसरका रूपमा लिइन्छ । भक्तजनहरू यस दिन व्रत बस्ने, दूध, धतुरो र बेलपत्र चढाउने तथा रातभर जाग्राम बसेर भगवान् शिवको आराधना गर्ने गर्दछन् । धार्मिक विश्वासअनुसार यसरी उपवास र पूजा–अर्चना गरे पापक्षय भई मोक्ष प्राप्ति हुने जनश्रुति छ ।

यस पर्वलाई प्रकृतिसँग पनि जोडेर व्याख्या गरिन्छ । माघ महिनामा पत्रविहीन भई जीर्ण देखिएका रूखबिरुवा फागुन लागेसँगै पुनः पालुवा पलाउन थाल्छन् । यसलाई भगवान् शिवको रुद्र स्वरूपबाट शिवत्वतर्फको रूपान्तरणसँग तुलना गरिन्छ । त्यसैले महाशिवरात्रि नकारात्मकताको अन्त्य र सकारात्मकताको आरम्भको प्रतीकका रूपमा समेत लिइन्छ ।

धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक महत्व बोकेको महाशिवरात्रि पर्वले समाजमा आस्था, अनुशासन र एकताको सन्देश दिने विश्वास गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.