रेडियो थाहा सञ्चारद्वारा बुङ्दलका विद्यार्थीलाई स्वास्थ्य सामग्री र आयोडिनयुक्त नुन वितरण

मकवानपुर – १८ औँ वार्षिकोत्सवको अवसरमा रेडियो थाहा सञ्चार ९.६ मेगाहर्ज ले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सामाजिक उत्तरदायित्वका गतिविधि सञ्चालन गरिरहेको छ। सोही क्रममा चौथो दिन मकवानपुरगढी गाउँपालिका–५ बुङ्दलस्थित श्री सरस्वती प्राथमिक विद्यालयमा विद्यार्थीहरूलाई स्वास्थ्य तथा शैक्षिक सामग्रीसहित आयोडिनयुक्त नुन वितरण गरिएको छ।

कार्यक्रम रेडियोका स्टेशन म्यानेजर गोकुल अधिकारीको सभाध्यक्षता तथा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड हेटौँडाका प्रमुख मधुसुधन अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

सो अवसरमा प्रमुख अतिथि अधिकारीले आयोडिनयुक्त नुनको सही प्रयोगले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै नियमित रूपमा गुणस्तरीय नुन प्रयोग गर्न आग्रह गरे। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका, अभिभावक तथा स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वास्थ्य तथा शैक्षिक सामग्री सहयोग साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, निको हस्पिटल/तमु फार्मेसी तथा पूर्व विद्यार्थीहरूबाट प्राप्त भएको आयोजकले जनाएको छ।

रेडियोले वार्षिकोत्सवका अवसरमा फागुन १ गते हेटौँडामा सरसफाइ कार्यक्रम, फागुन २ गते महिला मैत्रीपूर्ण फुटबल प्रतियोगिता तथा फागुन ३ गते ‘थाहा दर्शन’ कार्यक्रम आयोजना गरिसकेको छ। आगामी दिनमा श्रोता मिलन, बाल साहित्य कार्यक्रम र ‘थाहा वर्ष सम्मान’सहित समापन समारोह आयोजना गरिने जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.