मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य तथा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१ का उम्मेदवार दीपक बहादुर सिंहले देश र जनतालाई नै आफ्नो राजनीतिक यात्राको मूल आधार बनाएको बताएका छन्।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ र ९ मा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पार्टीभन्दा माथि राष्ट्र र जनताको हित रहने स्पष्ट पारे। “मेरो लागि पहिलो देश र जनता हुन्, त्यसपछि मात्रै पार्टी,” उनले भने।
सिंहले जनताको विश्वास जित्ने गरी इमानदार, उत्तरदायी र विकासमुखी राजनीति गर्ने प्रतिबद्धता दोहोर्याए। क्षेत्रको समग्र विकास, सुशासन र जनचासोका मुद्दालाई प्राथमिकतामा राख्दै अघि बढ्ने उनको भनाइ थियो।
कार्यक्रममा राप्रपा मकवानपुरका कार्यवाहक अध्यक्ष सागर थापा, केन्द्रीय महिला संगठन सचिव सरस्वती केसी थिङ, जिल्ला उपाध्यक्ष अर्जुन गौतमलगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको प्रचारप्रसार विभाग प्रमुख प्रकाश चौलागाईंले जानकारी दिए।


































