आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत नेपालले आज आफ्नो चौथो तथा अन्तिम समूह चरणको खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। खेल भारतको वानखेडे स्टेडियम मा हुनेछ र नेपाली समयअनुसार बेलुका सवा ७ बजेदेखि सुरु हुनेछ।
नेपालका लागि यसअघिका तीन खेल सुखद रहेनन्। पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनको झिनो हार बेहोरेको नेपाल दोस्रो खेलमा इटालीसँग १० विकेटले पराजित भयो भने तेस्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले हार्यो। लगातार तीन हारसँगै नेपाल समूह ‘सी’बाट बाहिरिसकेको छ र अंकविहीन अवस्थामा तालिकाको पुछारमा छ।
समूह ‘सी’बाट भने वेस्ट इन्डिज र इंग्ल्यान्ड सुपर एटमा प्रवेश गरिसकेका छन्। वेस्ट इन्डिजले लगातार तीन जित निकाल्दा इंग्ल्यान्डले चार खेलमध्ये तीन जितसहित ६ अंक जोड्दै अघिल्लो चरणमा स्थान बनाएको हो।
आजै हुने अन्य खेलअन्तर्गत क्यानडा र न्युजिल्यान्ड भारतको चेन्नईमा बिहान सवा ११ बजे भिड्दैछन्। यस्तै, आयरल्यान्ड र जिम्बाबे श्रीलङ्काको पल्लेकलेमा दिउँसो सवा ३ बजे आमनेसामने हुनेछन्।
हिजो सम्पन्न खेलहरूमा आयोजक श्रीलङ्काले अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै समूह ‘बी’बाट सुपर एटमा स्थान सुरक्षित गर्यो। इंग्ल्यान्डले इटालीलाई २४ रनले हराउँदा अफगानिस्तानले यूएईलाई ५ विकेटले पराजित गरेको थियो।
नेपालका लागि आजको खेल प्रतिष्ठाको लडाइँका रूपमा हेरिएको छ। जीतसँगै विश्वकप यात्रा टुंग्याउने लक्ष्यमा नेपाली टोली मैदान उत्रनेछ।


































