झापा–५ मा बालेनको शान्त घरदैलो, कार्यकर्ता किन टाढा?

झापा क्षेत्र नम्बर ५ मा चुनावी माहोल तातेका बेला बालेन शाहले सोमबार बिहान दमकबाट घरदैलो सुरु गरे। उनी दिउँसो गौरीगञ्ज पुगेका थिए। अभियानका क्रममा उनीसँग सचिवालयका सदस्य र पार्टीका सीमित प्रतिनिधि मात्रै देखिए।

मंगलबार बिहान पनि उनी केही सुरक्षाकर्मी र सचिवालय सदस्यसँग मतदातासँग भेटघाट गर्दै देखिएका थिए। त्यसपछि भने उनी काठमाडौं फर्किएका छन्।

यसपटकको घरदैलोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्थानीय कार्यकर्ता देखिएनन्। उम्मेदवारले औपचारिक जानकारी नदिई घरदैलो थालेको भन्दै प्रतिस्पर्धी दलहरूले चासो व्यक्त गरेका छन्। तर बालेनको सचिवालयले भने मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिनकै लागि सीमित उपस्थितिमा कार्यक्रम गरिएको स्पष्ट पारेको छ।

सचिवालयका एक सदस्यका अनुसार यसअघि तालिका सार्वजनिक गर्दा फोटो–भिडियो खिच्नेहरूको भीड लागेर मतदाताको समस्या सुन्न असहज भएको अनुभव थियो। त्यसैले यसपटक सादा रूपमा घरदैलो गरिएको जनाइएको छ।

रास्वपा–५ का सभापति भेषराज भट्टराईले पनि भीडभाड टार्न सुटुक्क घरदैलो गरिएको बताए। पार्टीका नेताहरूलाई आ–आफ्नो वडामा खटाइएको उल्लेख गर्दै उनले असन्तुष्टि नरहेको दाबी गरे।

यद्यपि, केही स्थानीय कार्यकर्ताले उम्मेदवारले आफूहरूलाई बेवास्ता गरेको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। सचिवालय स्रोतका अनुसार सीमित असन्तुष्टिले चुनावी समीकरणमा खास प्रभाव नपर्ने आकलन गरिएको छ।

यसैबीच, रास्वपाका क्षेत्रीय प्रतिनिधि परिषद् सदस्य भरत खनाल केपी शर्मा ओलीको उपस्थितिमा नेकपा (एमाले)मा प्रवेश गरेका छन्। ओली स्वयं पनि यस क्षेत्रमा सक्रिय घरदैलोमा छन् र उनको कार्यक्रममा समर्थकहरूको उल्लेख्य उपस्थिति देखिएको छ।

अन्य उम्मेदवारहरू पनि आ–आफ्नो शैलीमा मतदातामाझ पुगिरहेका छन्। कांग्रेसकी मन्धरा चिमरिया, नेकपाका रञ्जित तामाङ तथा श्रम संस्कृति पार्टीका समिर तामाङले तामझामबिनै टोल–टोलमा भेटघाटलाई तीव्रता दिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.