हेटौँडा — बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका प्रमुख राजनीतिक सल्लाहकारमा मकवानपुरका दामोदर खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ।
खनाल बकैया गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर–१ का सङ्घीय सभापति हुन्। उनलाई मुख्यमन्त्रीको राजनीतिक मार्गदर्शनका लागि महत्त्वपूर्ण जिम्मेवारी दिइएको हो।
सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रभात तामाङका अनुसार, बैठकले बागमती प्रदेश विश्वविद्यालयको संरक्षक सदस्यमा डा. प्रेमनारायण अर्याललाई नियुक्त गरेको छ।
त्यसैगरी, सूचना प्रतिवेदन समितिको अध्यक्षमा धादिङका कृष्णराज अधिकारी र सदस्यमा मकवानपुरका अशोक श्रेष्ठ मनोनयन भएका छन्।
बैठकले प्रदेश सचिव खुबीराम अधिकारीलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको अतिरिक्त जिम्मेवारी दिएको छ भने यसअघि उक्त मन्त्रालय सम्हाल्दै आएका बाबुराम पुरीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सीमित गरिएको छ।
यसैबीच, नमोबुद्ध क्षेत्र विकास समितिको अध्यक्षमा शंखबुद्ध लामा नियुक्त भएका छन्। स्वास्थ्य सेवाका डा. अर्जुनप्रसाद सापकोटाको राजीनामा स्वीकृत गरिएको छ भने दामोदर केसीको राजीनामा पनि स्वास्थ्य कारण देखाउँदै माघ ५ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको छ।
मन्त्रिपरिषद्ले गरिबी निवारण नीति २०८२, शैक्षिक छात्रवृत्ति निर्देशिका २०८३ पारित गरेको छ। साथै, प्रदेश पर्यटन ऐन र राष्ट्रिय वन ऐन संशोधनका मस्यौदालाई प्रदेश सभामा पेश गर्न अनुमति दिएको छ।
आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि स्थानीय तहलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदानको रकम पनि बैठकले स्वीकृत गरेको छ।






















































