हेटौंडामा बागमती प्रदेश सरकार र पत्रकार महासंघबीच सञ्चार क्षेत्रका चुनौतीबारे गम्भीर छलफल भएको छ। नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको नेतृत्वमा भएको उक्त भेटवार्तामा निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन वितरण रोकिएको विषय मुख्य एजेन्डाका रूपमा उठाइएको थियो।
छलफलका क्रममा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निजी मिडियालाई विज्ञापन नदिनु लोकतान्त्रिक मूल्यविपरीत हुने स्पष्ट पार्दै यस विषयमा आफूले पहल गरिसकेको जानकारी दिए। उनले प्रमुख सचिवलाई आवश्यक निर्देशन दिइसकेको उल्लेख गर्दै टेण्डरबाहेकका अन्य सरकारी सूचना निजी सञ्चार माध्यममार्फत प्रवाह गरिने वातावरण बनाउन जोड दिएका छन्।
प्रधानमन्त्रीसँगको छलफललाई उद्धृत गर्दै उनले टेण्डरसम्बन्धी सूचना मात्र निजी मिडियामा नदिने सहमति बनेको र अन्य सूचनामा रोक नरहेको बताए। यसअघि प्रधानमन्त्री कार्यालयबाट आएको पत्रका कारण प्रदेशका निजी सञ्चार माध्यम सरकारी विज्ञापनबाट वञ्चित भएका थिए।
महासंघका पदाधिकारीहरूले भने साना–ठूला सबै निजी मिडियालाई समान रूपमा सूचना उपलब्ध गराउनुपर्ने माग राखेका छन्। उपाध्यक्ष हरि हुमागाईले वर्तमान अवस्थाले सञ्चार क्षेत्रलाई प्रभावित पारेको भन्दै तत्काल सुधार आवश्यक रहेको बताए। संस्थापक अध्यक्ष प्रताप विष्टले पनि निजी र सरकारी मिडियाबीच विभेद नगर्न आग्रह गरेका छन्।
छलफलमा सहभागीहरूले विज्ञापन वितरण प्रणालीलाई पारदर्शी, समावेशी र समानुपातिक बनाउनुपर्नेमा जोड दिएका थिए।






















































