हेटौँडा — मकवानपुर जिल्लामा पहिलो पटक मनहरी गाउँपालिकाबाट करदाता सेवा सुरु गरिएको छ। बुधबार आयोजित कार्यक्रममा गाउँपालिकाले व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) जारी गर्ने सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो।
आन्तरिक राजस्व कार्यालय हेटौँडाका प्रमुख युक्तप्रसाद सुवेदी र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीबीच समझदारीपत्रमा हस्ताक्षर भएसँगै सेवा सुरु गरिएको हो। संघीय सरकारको निर्णयअनुसार स्थानीय तहबाट करदाता सेवा प्रवाह गर्ने कार्यक्रमअन्तर्गत यो सेवा सुरु गरिएको जनाइएको छ।
गाउँपालिकाबाटै अब व्यक्तिगत तथा व्यावसायिक प्यान जारी, नवीकरण तथा संशोधनसम्बन्धी काम हुनेछन्। साथै, आयकर दर्ता र अन्तःशुल्कसम्बन्धी केही सेवाहरू पनि स्थानीय तहबाटै सहजीकरण गरिनेछ।
सेवा सुरु भएसँगै स्थानीय करदातालाई समय बचत हुने र छिटो सेवा प्राप्त हुने विश्वास गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले व्यक्त गरेका छन्।






















































