हिमाली क्षेत्रका शेर्पा समुदायले आज ग्याल्पो ल्होसार नयाँ वर्षका रूपमा हर्षोल्लासका साथ मनाइरहेका छन्। ‘ल्हो’को अर्थ वर्ष र ‘छार’को अर्थ नयाँ भन्ने हुन्छ। यही अर्थअनुसार यो पर्वलाई नयाँ वर्षको स्वागतका रूपमा लिने गरिन्छ।
शेर्पा समुदायमा यस अवसरमा गाउँ–टोलका बाटोघाटो र पानीका मुहान सरसफाइ गर्ने चलन छ। घरघरमा नौ प्रकारका अन्न मिसाएर बनाइने परिकार ‘गुथुक’ तथा ‘खाप्से’ तयार गरी खाने र एक–आपसमा शुभकामना आदानप्रदान गर्ने परम्परा पनि छ।
महायान बौद्ध परम्पराअनुसार चन्द्रमासको गणनाका आधारमा फागुन शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्ष प्रारम्भ हुने विश्वास गरिन्छ। स्याब्रु नृत्य, तुङ्गनाको मधुर धुन र सामूहिक उत्सवले यस पर्वलाई थप उल्लासमय बनाउँछ।
ग्याल्पो ल्होसारलाई पारिवारिक तथा सामाजिक सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा लिइन्छ। यसले समाजमा आपसी प्रेम, सद्भाव, भाइचारा र एकताको भावना अझ बलियो बनाउने विश्वास गरिन्छ। परिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई घनिष्ठ बनाउँदै सहकार्य र समझदारीको वातावरण सिर्जना गर्न यो पर्वले योगदान पुर्याउने मान्यता छ।
ग्याल्पो ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।


































