मकवानपुरमा भूमिहीनको मुद्दा चुनावी प्राथमिकतामा, समाधानतर्फ प्रतिबद्धता बलियो

हेटौँडा – मकवानपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा चुनाव नजिकिँदै जाँदा भूमिहीन तथा अव्यवस्थित बसोबासीको मुद्दा सकारात्मक बहसको केन्द्रमा पुगेको छ। क्षेत्र नम्बर–१ का बकैया र बागमती गाउँपालिका तथा क्षेत्र नम्बर–२ अन्तर्गत हेटौँडा उपमहानगरपालिका–११ सिमलटारका हजारौँ परिवारको लालपुर्जा समस्या समाधान गर्ने विषयलाई उम्मेदवारहरूले प्राथमिक एजेण्डाका रूपमा अघि सारेका छन्।

वर्षौँदेखि भोगचलन गरिरहेको जग्गाको औपचारिक स्वामित्व नहुँदा कानुनी तथा आर्थिक असुरक्षा भोगिरहेका स्थानीयलाई लक्षित गर्दै विभिन्न दलका उम्मेदवार टोलटोलमा पुगेर स्पष्ट कार्ययोजना सार्वजनिक गर्न थालेका छन्। यसले लामो समयदेखि उठ्दै आएको विषयलाई संस्थागत समाधानतर्फ लैजान दबाब सिर्जना गरेको छ।

क्षेत्र नम्बर–२ का एमाले उम्मेदवार महेश बर्तौला ले सिमलटार पुगेर भूमिहीन, दलित र अव्यवस्थित बसोबासीका मुद्दालाई संसद्मा सशक्त रूपमा उठाउने प्रतिबद्धता जनाउनुभएको छ। भूमि अधिकार मञ्च मकवानपुरले बुझाएको सुझावपत्रमार्फत खाद्यान्न, आवास र खेतीयोग्य जमिनको सुनिश्चितता गर्न माग गरिएको थियो।

त्यस्तै क्षेत्र नम्बर–१ मा कांग्रेसकी महालक्ष्मी उपाध्याय डिना, एमालेका रामेश्वर राना लगायत अन्य दलका उम्मेदवारहरूले पनि भूमिहीनको समस्या समाधानलाई आफ्नो प्राथमिकतामा राखेका छन्।

क्षेत्र नम्बर–२ मा कांग्रेसका बुद्ध लामा सहित विभिन्न दलका उम्मेदवारहरूले लालपुर्जा वितरण प्रक्रिया छिटो र पारदर्शी ढंगले अघि बढाउने प्रतिबद्धता जनाएका छन्।स्थानीय तहबाट प्रारम्भिक रूपमा संकलित फारामहरू सम्बन्धित निकायसम्म पुर्‍याई प्रक्रिया अघि बढाउने पहलसमेत तीव्र पारिने जनाइएको छ। सडक, खानेपानी, विद्युत् जस्ता पूर्वाधार विस्तार भइसकेको सिमलटार बस्तीमा अब स्वामित्व प्रमाणपत्र वितरणतर्फ ठोस प्रगति हुने अपेक्षा गरिएको छ।

यसरी मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा भूमिहीनको लालपुर्जा मुद्दा अब केवल चुनावी नारामा सीमित नभई समाधानमुखी पहलतर्फ उन्मुख हुने संकेत देखिएको छ। स्थानीयवासीले पनि यसपटक प्रतिबद्धता कार्यान्वयनमा परिणत हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.