धादिङको दुर्गम क्षेत्र खनियाबास गाउँपालिकामा जन्मिएको एक नवजात शिशुलाई श्वासप्रश्वासमा जटिल समस्या देखिएपछि आपतकालीन रूपमा काठमाडौँ लगिएको छ। खनियाबास गाउँपालिका अन्तर्गत रहेको खनियाबास ग्रामीण अस्पताल मा मंगलबार बिहान करिब ९:२० बजे ३,७०० ग्राम तौलको शिशुको जन्म भएको थियो।
जन्मिएलगत्तै शिशु नरोएको, शरीर निलो देखिएको र अक्सिजनको मात्रा ९४ प्रतिशतभन्दा तल झरेपछि अवस्था चिन्ताजनक बनेको थियो। जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेलका अनुसार तत्काल प्राथमिक उपचार सुरु गरिए पनि आवश्यक उपकरण र विशेषज्ञ सेवा अभावका कारण थप उपचारका लागि बाहिर पठाउनुपरेको हो।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालय र स्वास्थ्य निर्देशनालयको समन्वयमा १९ वर्षीया आमा चुनमायासहित शिशुलाई बुधबार दिउँसो १:२० बजे हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको थियो। शिशुलाई कान्ति बाल अस्पताल मा भर्ना गरी नवजात सघन उपचार कक्ष (एनआइसीयू) मा विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार सुरु गरिएको जनाइएको छ।
दुर्गम क्षेत्रका अस्पतालहरूमा विशेषज्ञ सेवा र अत्याधुनिक उपकरणको अभावले गम्भीर बिरामीको उद्धार चुनौतीपूर्ण बन्दै गएको स्थानीय स्वास्थ्यकर्मीहरूले बताएका छन्।


































