मकवानपुर ।महेश कुमार बर्तौला ले आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै १० बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको उक्त प्रतिवद्धतामा उनले मकवानपुर–२ लाई “समृद्ध, सुरक्षित र अवसरयुक्त” बनाउने लक्ष्य अघि सारेका छन्।
मध्यवर्ती क्षेत्रका समस्या समाधानलाई पहिलो प्राथमिकतामा राख्दै बर्तौलाले भूमि व्यवस्थापनमा कानुनी सुनिश्चितता, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा न्यायोचित क्षतिपूर्तिको व्यवस्था गर्ने उल्लेख गरेका छन्। साथै, मध्यवर्ती क्षेत्रको सिमाना पुनरावलोकनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
पूर्वाधार विकासतर्फ खानेपानी, सिँचाइ, कृषि तथा सञ्चार संरचना विस्तार, बस्ती संरक्षण तटबन्धन, सडक–पुल निर्माणलाई प्राथमिकता दिने योजना छ। विशेषगरी रूपचन्द्र विष्ट मार्ग (मनहरी–राक्सिराङ–कैलाश–थाहा सडक) निर्माण तथा स्तरोन्नतिमा जोड दिने बताएका छन्। स्वास्थ्य सेवामा सहज पहुँच विस्तार गर्ने योजना पनि समेटिएको छ।
कृषि क्षेत्र सुदृढीकरणका लागि ‘खोरेतमुक्त मकवानपुर’ अभियान सञ्चालन, दुग्ध तथा मासुजन्य उत्पादनको बजार विस्तार र वन्यजन्तुबाट हुने क्षतिमा कानुनी तथा संरचनागत समाधानको प्रस्ताव गरिएको छ। सहकारी र वन स्रोत परिचालनमार्फत रोजगारी सिर्जना गर्ने लक्ष्यसमेत उल्लेख छ।
शिक्षा तथा युवा क्षेत्रमा ‘एक पालिका–एक आवासीय विद्यालय’ अवधारणा, ‘पढ्दै कमाउँदै’ कार्यक्रमको नीतिगत सुनिश्चितता, युवा–विद्यार्थीसँग संसदीय संवाद र मनहरीमा मदन भण्डारी क्षेत्रीय रंगशाला निर्माण पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। युवा उद्यम प्रवद्र्धन तथा स्टार्टअप कर्जा सहजता पनि प्राथमिकतामा राखिएको छ।
समावेशी नीति निर्माण, सीमान्तकृत समुदायको अधिकार संरक्षण, पर्यटन सर्किट निर्माण र उद्योगधन्दा प्रवर्द्धनमार्फत लगानीमैत्री वातावरण बनाउने एजेन्डा पनि सार्वजनिक गरिएको छ।
२०७९ को निर्वाचनमा विरोध खतिवडालाई ४ हजार ५२० मतान्तरले पराजित गर्दै विजयी भएका बर्तौला यस पटक दोस्रो कार्यकालका लागि मैदानमा छन्। यस क्षेत्रमा उनीसहित २१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
























































