निर्वाचन आउन अब ११ दिन बाँकी, आचारसंहिता उल्लङ्घनमा कडा निगरानी

निर्वाचनलाई सहभागितामूलक बनाउँदै बदर मत घटाउने लक्ष्यसहित निर्वाचन आयोग नेपालले देशभर मतदाता शिक्षा अभियानलाई तीव्र बनाएको छ। मताधिकारको महत्व र मतदान प्रक्रियाबारे आमनागरिकलाई स्पष्ट जानकारी दिन आयोगले स्वीकृत कार्यक्रमअनुसार स्वयंसेवक परिचालन गरेको जनाएको छ।

फागुन ३ देखि १७ गतेसम्म देशका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक खटिएका छन्। उनीहरूले बस्ती–बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रमार्फत मतदान गर्ने तरिका, मत हाल्ने प्रक्रिया र निर्वाचनको महत्वबारे जानकारी दिइरहेका छन्।

कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आयोगले स्थानीय तहमा तोकिएका सम्पर्क व्यक्तिलाई अनुगमनकर्ताको जिम्मेवारी दिएको छ भने अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न भइसकेको छ।

यसैबीच, निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी मिथ्या, भ्रमपूर्ण र घृणास्पद अभिव्यक्ति फैलाउने गतिविधिप्रति आयोगले निगरानी बढाएको छ। निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत सूचना सदाचार प्रवर्द्धन एकाइ पूर्ण रूपमा सक्रिय रहेको आयोगले जनाएको छ।

हानिकारक सूचना उत्पादन तथा प्रसारण गर्ने २९० कन्टेन्ट उत्पादक र सम्प्रेषकलाई नेपाल प्रहरीको साइबर ब्यूरोमा विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाहीका लागि उजुरी गरिएको छ। त्यसैगरी ११ वटा प्रकरण नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइएको छ।

यस्तै, ६५ प्रकरण प्रेस काउन्सिल नेपालमा र एक प्रकरण विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ अनुसार कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको आयोगले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.