रवि लामिछाने ले सहकारी पीडितका साना बचतकर्ताको रकम १०० दिनभित्र फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका उनले सुनसरीको इटहरी मा आयोजित चुनावी सभामा बोल्दै आफ्नो पार्टी नेतृत्वको सरकार गठन भएलगत्तै साना बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता प्रक्रिया सुरु गरिने बताएका हुन्।
उनले अघिल्ला सरकारहरू सहकारी पीडितका मुद्दामा गम्भीर नदेखिएको आरोप लगाउँदै अब ठोस निर्णय र समयसीमासहित काम अघि बढाइने दाबी गरे। “१०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता हुन्छ,” भन्दै उनले आर्थिक अनुशासन र जवाफदेहितामा कडाइ गरिने संकेत दिए।
भूमिहीन समस्या समाधानका लागि राजनीतिक प्रतिनिधिभन्दा विज्ञहरू सम्मिलित शक्तिशाली आयोग गठन गर्ने योजना पनि उनले सार्वजनिक गरे। उक्त आयोगको सिफारिसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै उनले अनियमिततामा संलग्नमाथि कडा कारबाही हुने चेतावनी दिए। “डोजर गरिबको झुपडीमा होइन, अनियमितता हुने महलमा चल्छ,” उनले भने।
पूर्वाधार विकास र नीतिगत सुधारबारे बोल्दै उनले लामो समय सत्तामा रहेका दलहरूले संरचनागत सुधार गर्न नसकेको टिप्पणी गरे। विकासका लागि आवश्यक नीति, प्रविधि र उपकरण व्यवस्थापनमा आफ्नो पार्टीले सुधार ल्याउने उनको दाबी थियो।
लामिछानेका अभिव्यक्तिले सहकारी पीडितको रकम फिर्ता, भूमिहीन समस्या समाधान र नीतिगत सुधारजस्ता मुद्दालाई चुनावी बहसको केन्द्रमा ल्याएको छ।























































