आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मदिरा बिक्री नियन्त्रणबारे तयारी अघि बढाइएको छ। मंगलबार बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा चुनावअघि कम्तीमा सात दिन मदिरा बिक्रीमा पूर्ण रोक लगाउने विषयमा गम्भीर छलफल भएको एक अधिकारीले जानकारी दिएका छन्।
आगामी फागुन २१ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले सरकारलाई मदिरा बिक्री बन्द गर्न सिफारिस गर्ने तयारी गरेको स्रोतले जनाएको छ। आयोगको सिफारिसपछि गृह मन्त्रालयले औपचारिक निर्णय गर्नेछ।
सुरक्षा अधिकारीहरूका अनुसार निर्वाचनअघिको संवेदनशील समयमा मदिरा बिक्री खुला रहँदा सुरक्षा जोखिम बढ्न सक्ने, झडप वा अवाञ्छित गतिविधि हुन सक्ने तथा मतदान प्रक्रिया प्रभावित हुन सक्ने भएकाले नियन्त्रण आवश्यक ठानिएको हो।
यसैबीच फागुन १९ गते मनाइने तराई होलीलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन पनि मदिरा बिक्रीमा नियन्त्रण गर्ने विषयमा छलफल भएको बताइएको छ।
उच्चस्तरीय सुरक्षा समितिले निर्वाचनअघि सीमावर्ती नाकाहरूमा ७२ घण्टा आवागमन बन्द गर्ने निर्णय समेत गरेको जनाएको छ। यस कदमले मतदानको वातावरण शान्त, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्य राखिएको अधिकारीहरूले बताएका छन्।
विशेषज्ञहरूका अनुसार चुनावअघि मदिरा बिक्रीमा रोक लगाउने अभ्यासले निर्वाचन प्रक्रिया पारदर्शी र शान्तिपूर्ण बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।


































