राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मानव जीवनको क्षतिलाई कुनै पनि भौतिक संरचनासँग तुलना गर्न नसकिने बताएका छन्।
रास्वपा गोरखाले सदरमुकाममा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाबारे आफ्नो धारणा सार्वजनिक गरे। उनका अनुसार २३ गते गोली चलेपछि मात्र स्थिति तनावग्रस्त बनेको र त्यसपछि मात्रै सिंहदरबारमा आगजनी भएको हो।
“सिंहदरबार जलायो भनेर भ्रम फैलाइएको छ,” उनले भने, “यदि २३ गते गोली नचलेको भए त्यस्तो घटना हुने थिएन।”
लामिछानेले राज्यका संरचना पुनः निर्माण गर्न सकिने तर ज्यान गुमाएका व्यक्तिलाई फर्काउन नसकिने बताए। “जो ढल्यो, त्यो फेरि उठ्दैन। रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन,” उनले भावुक हुँदै भने।
उनले सरकारी संरचना जलेको घटनामा कुनै पनि पक्षले गौरव नगरेको स्पष्ट पार्दै, आफू वा अरू कसैलाई पनि प्रश्नभन्दा माथि नरहेको धारणा व्यक्त गरे।


































