हेटौंडा। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मकवानपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रका सबै मतदान केन्द्रमा आवश्यक सामग्री पुर्याइएको छ।
बागमती प्रदेश निर्वाचन कार्यालय का प्रमुख हरि प्रसाद ढकालका अनुसार मतपत्र, मतपेटिका, स्वस्तिक छाप, मतदाता नामावली, स्याही, स्ट्याम्प प्याड तथा सुरक्षात्मक सामग्रीसहित सम्पूर्ण निर्वाचन सामग्री सम्बन्धित केन्द्रमा पठाइसकिएको छ। मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरू समेत सामग्रीसहित तोकिएको केन्द्रमा पुगिसकेका छन्।
आज सर्वदलीय बैठक बस्ने र मतदान बुथ निर्माणको काम अघि बढाइने जनाइएको छ। प्रत्येक मतदान केन्द्रमा ६ जनाका दरले कर्मचारी खटाइएको छ भने दुर्गम क्षेत्रका केन्द्रमा सामग्री पुर्याउन विशेष सवारी साधनको व्यवस्था गरिएको थियो।
निर्वाचनलाई निष्पक्ष, स्वच्छ र शान्तिपूर्ण बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। संवेदनशील केन्द्रहरूमा थप सुरक्षाकर्मी खटाइने योजना रहेको छ।
निर्वाचन अधिकृतको कार्यालयले सूचना टाँस गर्ने, मतदान स्थल व्यवस्थापन गर्ने र मतदान कक्ष तयारी गर्ने कार्य अन्तिम चरणमा पुगेको जनाएको छ। मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह गरिएको छ।


































