हरेक पटक ‘७२ घण्टे’ चक्की? सहज उपाय कि शरीरका लागि चेतावनी संकेत

“मैले ७२ घण्टे औषधि खाएँ, के यसले हानि गर्छ ?” — यो प्रश्न पछिल्लो समय स्त्रीरोग विशेषज्ञहरूको क्लिनिक र म्यासेज बक्समा बारम्बार दोहोरिन थालेको छ।

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. दीजा खनाल भन्छिन्, धेरै महिलाले आकस्मिक गर्भनिरोधक चक्कीलाई सजिलो विकल्प ठान्छन्, तर यसको बारम्बार प्रयोगले शरीरमा गम्भीर हर्मोनल असन्तुलन निम्त्याउन सक्छ।

उनीका अनुसार ७२ घण्टे गर्भनिरोधक चक्की (प्रायः ‘आई–पिल’ भनेर चिनिने) आपत्कालीन अवस्थामा मात्र प्रयोग गर्न सिफारिस गरिएको औषधि हो। यसमा उच्च मात्रा लेभोनोर्जेस्ट्रेल (सिन्थेटिक प्रोजेस्टिन) हुन्छ, जसले ओभुलेसन रोक्ने, निषेचनमा अवरोध गर्ने र गर्भाशयको भित्री तह (एन्डोमेट्रियम) पातलो बनाउने काम गर्छ।

‘फायर एक्सटिङ्गुइशर’ जस्तै औषधि

निःसन्तान तथा स्त्रीरोग विशेषज्ञ डा. उपमा बस्नेत यसलाई “फायर एक्सटिङ्गुइशर” सँग तुलना गर्छिन्।
उनका शब्दमा, “यो आगो लागेपछि निभाउन प्रयोग गरिने साधन हो, घर तताउन होइन।”

अर्थात्, असुरक्षित यौनसम्पर्कपछि ७२ घण्टाभित्र सेवन गर्दा मात्र प्रभावकारी हुन्छ। नियमित गर्भनिरोधकको विकल्पका रूपमा यसको प्रयोग उपयुक्त मानिँदैन।

देखिन सक्ने साइड इफेक्ट

विशेषज्ञहरूका अनुसार यो औषधि खाएपछि देखिन सक्ने सामान्य असरहरूमा:

महिनावारी अनियमित हुनु

चक्लेट रङको थोपा–थोपा रगत देखिनु

वाकवाकी वा हल्का बान्ता

टाउको दुखाइ

स्तन भारी वा दुख्ने

तल्लो पेट दुखाइ

कतिपय महिलामा अल्ट्रासाउन्ड गर्दा डिम्बाशयमा स–साना सिस्ट पनि देखिन सक्छन्, जुन प्रायः अस्थायी हुन्छन्।

तर अत्यधिक रक्तस्राव, असह्य पेट दुखाइ वा दुई–तीन महिना महिनावारी नआएमा तुरुन्त जाँच गराउन चिकित्सकहरू सुझाव दिन्छन्।

के यसले स्थायी बाँझोपन गराउँछ ?

विशेषज्ञहरू भन्छन्, एक–दुई पटक आकस्मिक रूपमा सेवन गर्दा भविष्यमा स्थायी बाँझोपन हुने प्रमाण छैन।

तर समस्या तब देखिन सक्छ जब यसलाई नियमित गर्भनिरोधकको सट्टा पटक–पटक प्रयोग गरिन्छ। यसले हर्मोनल चक्रमा बारम्बार झट्का दिँदै महिनावारी अनियमित बनाउने, ओभुलेसन अस्थायी रूपमा रोकिने र शरीर कमजोर महसुस हुने समस्या ल्याउन सक्छ।

सुरक्षित विकल्प के ?

नियमित गर्भनिरोधका लागि चिकित्सकको सल्लाहमा अन्य विधि अपनाउन सुझाव दिइन्छ, जस्तै:

दैनिक ओरल कन्ट्रासेप्टिभ पिल

कपर्टी (IUD)

नरप्लान्ट

डिपो इन्जेक्सन

विशेषज्ञहरूको जोड छ — आकस्मिक औषधि बानी नबनाउनुहोस्। आफ्नो स्वास्थ्य अवस्था, सन्तान योजना र जीवनशैली अनुसार उपयुक्त गर्भनिरोधक विधि छनोट गर्नु नै सुरक्षित र दीर्घकालीन उपाय हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.