राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बहुमतको सरकार बनाउने दिशामा अघि बढेको छ। पछिल्लो मतपरिणामअनुसार रास्वपाले प्रत्यक्षतर्फ ४६ सिट जितिसकेको छ भने थप ७३ सिटमा अग्रता कायम राखेको छ। प्रतिनिधिसभामा सरकार गठनका लागि आवश्यक १३८ सिट रास्वपाले सहजै पुर्याउने संकेत देखिएको छ।
पार्टीले प्रधानमन्त्रीका रूपमा वरिष्ठ नेता बालेन शाहलाई अघि सार्ने तयारी गरेको छ। झापा–५ मा पनि बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीभन्दा उल्लेख्य अग्रता बनाइरहेका छन्।
समानुपातिकतर्फको मतगणनामा पनि रास्वपा अन्य दलभन्दा अगाडि देखिएको छ। यसले गर्दा पार्टीले एकल बहुमतको सरकार बनाउने सम्भावना बलियो बनेको छ।
यसबीच रास्वपाका सभापति रवि लामिछानेले चितवनमा आयोजित कार्यक्रममा बोल्दै पार्टीले सार्वजनिक गरेको वाचापत्रअनुसारका प्रतिबद्धता पूरा गर्ने बताएका छन्।
उनले मतदाताले वाचापत्रको आधारमा पार्टीलाई समर्थन दिएको उल्लेख गर्दै संयमित र जिम्मेवार ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
रास्वपाले फागुन ७ गते सार्वजनिक गरेको वाचापत्रमा पाँच वर्षभित्र लागू गरिने १०० प्रमुख काम तथा नीतिगत सुधारका कार्यक्रम समावेश गरिएको छ। पार्टीले संविधान संशोधनबारे बहस सुरु गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको प्रस्ताव अघि बढाउने तथा पूर्ण समानुपातिक संसद् सम्बन्धी अवधारणा अघि सार्ने जनाएको छ।
त्यस्तै भ्रष्टाचार नियन्त्रण, सुशासन सुदृढीकरण, दलित तथा पिछडिएका समुदायप्रति राज्यको तर्फबाट औपचारिक क्षमायाचना, र राज्यका निकायहरूमा दलीय प्रभाव अन्त्य गर्ने जस्ता विषयलाई पनि प्राथमिकतामा राखिएको छ।
रास्वपाले २०४६ सालपछि महत्त्वपूर्ण सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने, अवैध रूपमा आर्जित सम्पत्ति जफत गर्ने तथा मन्त्रालयको संख्या १८ मा सीमित गर्ने योजना पनि वाचापत्रमा समेटेको छ।
सरकारमा पुगेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई ठूला आयोजना, जलवायु परिवर्तन र अन्तर मन्त्रालय समन्वयको प्रभावकारी केन्द्रका रूपमा विकास गर्ने पनि पार्टीको योजना रहेको छ।
यस्तो छ रास्वपाले बाचा गरेका १०० काम/नीति:























































