हेटौँडा — मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार प्रशान्त उप्रेती विजयी भएका छन्। उनले नेकपा (एमाले)का उम्मेदवार तथा निवर्तमान सांसद महेशकुमार बर्तौलालाई १२ हजार १०१ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका हुन्।
निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यका अनुसार उप्रेतीले ३१ हजार ७२५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका बर्तौलाले १९ हजार ६२४ मत पाएका छन् भने नेपाली कांग्रेसका बुद्ध लामा १५ हजार ४३६ मतसहित तेस्रो स्थानमा रहेका छन्। यस निर्वाचन क्षेत्रमा कुल ९१ हजार २४१ मत खसेको थियो।
उप्रेतीको जितसँगै मकवानपुर–२ मा लामो समयदेखि कायम रहेको कम्युनिस्ट प्रभाव अन्त्य भएको छ। २०४६ सालपछि भएका अधिकांश निर्वाचनमा यस क्षेत्रबाट एमाले वा अन्य कम्युनिस्ट दलका उम्मेदवार विजयी हुँदै आएका थिए। २०७९ सालको निर्वाचनमा पनि एमालेका बर्तौला नै विजयी भएका थिए।
२५ वर्षीय उप्रेती संसदमा प्रवेश गर्ने सम्भावित सबैभन्दा कान्छा सांसद बन्ने भएका छन्। उनी काठमाडौँमा होटल तथा पर्यटन व्यवसायसँग आबद्ध रहेका थिए। साथै, काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाहको सचिवालयमा आईटीसम्बन्धी कामसमेत सम्हालेका थिए। रास्वपाबाट टिकट पाएपछि उनी चुनाव लड्न मकवानपुर आएका थिए।
मकवानपुरका लागि नयाँ अनुहार भए पनि हेटौँडा उपमहानगरपालिकाका केही वडा, मनहरी गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाका वडाबाट प्राप्त मतले उनलाई निर्णायक अग्रता दिलाएको देखिएको छ। जिल्लाका दुर्गम क्षेत्रहरूमा भने प्रमुख दलहरूबीच मत प्रतिस्पर्धात्मक रूपमा बाँडिएको थियो।

































