मकवानपुर–१ मा रास्वपाका प्रकाश गौतमको ऐतिहासिक जित, फराकिलो मतान्तरले प्रतिस्पर्धी पराजित

मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश गौतमले प्रभावशाली जीत दर्ता गरेका छन्। हेटौंडा उपमहानगरपालिका–५ का ३७ वर्षीय गौतमले ३६ हजार ३३ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई धेरै पछाडि पार्दै संघीय संसदको यात्रा तय गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ले १४ हजार ३८ मत मात्र प्राप्त गरिन्। नेकपा एमालेका उम्मेदवार रामेश्वर राना १२ हजार ७८३ मतसहित तेस्रो स्थानमा सीमित भए।

यसैगरी नेपाल कम्युनिष्ट पार्टीका विजय गौतमले १० हजार ७८८ मत पाए भने उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले १० हजार २०५ मत प्राप्त गरे। श्रम संस्कृति पार्टीकी विद्या श्रेष्ठले १ हजार २४ मत ल्याइन्। अघिल्लो निर्वाचनका विजेता राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह भने यसपटक ४ हजार ५७४ मतसहित छैठौं स्थानमा झरे।

निर्वाचन आयोगका अनुसार मकवानपुर–१ मा कुल ९५ हजार ३१० मत खसेको थियो।

यो परिणामले एमालेका रामेश्वर रानाको संघीय संसद प्रवेश गर्ने दोस्रो प्रयास असफल बनाएको छ। यसअघि उनले २०६४ सालको संविधानसभा निर्वाचनमा पनि हार बेहोरेका थिए।

त्यस्तै नेपाली कांग्रेसकी डिना पनि प्रत्यक्ष निर्वाचनमा लगातार पाँचौँ पटक पराजित भएकी छन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी राप्रपाका दीपकबहादुर सिंहसँग झिनो मतान्तरले पराजित भएकी थिइन्।

यस पटक पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका नेपाल कम्युनिष्ट पार्टीका विजय गौतमले पनि उल्लेखनीय मत प्राप्त गरेका छन्।

समग्र परिणामले मकवानपुर–१ मा मतदाताको धारणा परिवर्तन हुँदै गएको र नयाँ राजनीतिक समीकरण निर्माण भइरहेको संकेत गरेको विश्लेषकहरूको भनाइ छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.