निर्वाचन आयोगले आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू नहुने जानकारी दिएको छ। आयोगका अनुसार यसअघि लागू गरिएको आचारसंहिता आजबाट स्वतः समाप्त हुने भएको हो।
आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचन तथा फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आचारसंहिता लागू गरिएको बताएका छन्।
उनका अनुसार निर्वाचन प्रक्रिया शान्तिपूर्ण र भयमुक्त वातावरणमा सम्पन्न गराउनका लागि उक्त आचारसंहिता लागू गरिएको थियो।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १ को उपदफा (२) अनुसार अर्को सूचना जारी नभएसम्म लागू गरिएको आचारसंहिता अब भने समाप्त भएको आयोगले जनाएको छ।
आयोगले जारी गरेको सूचनाअनुसार आज राति १२ बजेदेखि उक्त आचारसंहिता लागू नहुनेछ।















