माघ ११ गते भएको निर्वाचनबाट निर्वाचित राष्ट्रिय सभाका १८ जना सदस्यले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनिर्वाचित सदस्यहरूलाई शपथ गराएका हुन्।
नेपालको ५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यका लागि निर्वाचन हुने संवैधानिक व्यवस्था छ। सोही व्यवस्थाअनुसार फागुन २० गते १९ जना सदस्यको कार्यकाल समाप्त भएको थियो। तीमध्ये १८ जनाको निर्वाचन माघ ११ मा सम्पन्न भएको हो भने एक जना सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने व्यवस्था छ।
निर्वाचनबाट नेपाली कांग्रेसका ९ जना, नेकपा एमालेका ८ जना र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का १ जना सदस्य निर्वाचित भएका छन्।
को–को बने राष्ट्रिय सभा सदस्य?
मधेस प्रदेशबाट महन्थ ठाकुर राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन्। उनी लामो समयदेखि सक्रिय मधेसकेन्द्रित राजनीतिका नेता हुन्।
कोशी प्रदेशबाट सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भए। उनी यसअघि राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार थिए।
लुम्बिनी प्रदेशबाट पूर्वमन्त्री रामकुमारी झाँक्री राष्ट्रिय सभा सदस्य बनेकी छन्।
कर्णाली प्रदेशबाट नेपाली कांग्रेसका ललितजंग शाही निर्वाचित भएका छन्।
कोशी प्रदेशबाट नेकपा एमालेले रोशनी मेचे र दलित क्लस्टरबाट सोम पोर्तेललाई राष्ट्रिय सभामा पठाएको छ।
मधेस प्रदेशबाट कांग्रेसका धमेन्द्र पासवान र रञ्जित कर्ण निर्वाचित भएका छन् भने एमालेबाट रेखा झा राष्ट्रिय सभामा पुगेकी छन्।
बागमती प्रदेशबाट एमालेका डा. प्रेम दंगाल र कांग्रेसकी गीता देवकोटा निर्वाचित भएका छन्।
गण्डकी प्रदेशबाट कांग्रेसका जगत तिमिल्सिना र एमालेकी सम्झना देवकोटा विजयी भएका छन्।
कर्णाली प्रदेशबाट एमालेकी मिना रखाल राष्ट्रिय सभा सदस्य बनेकी छन्।
लुम्बिनी प्रदेशबाट कांग्रेसका चन्द्रबहादुर केसी र वासुदेव जंगली निर्वाचित भएका छन्।
सुदूरपश्चिम प्रदेशबाट कांग्रेसका खम्मबहादुर खाती र लीलाकुमारी भण्डारी राष्ट्रिय सभामा पुगेका छन्।
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुन्छन्। नवनिर्वाचित सदस्यहरूको कार्यकाल फागुन २१ देखि सुरु भएको छ।





















































