मकवानपुरमा दुई छुट्टाछुट्टै सवारी दुर्घटना, तीन जना घाइते

मकवानपुरमा सोमबार साँझ र मंगलबार बिहान भएका दुई अलग–अलग सवारी दुर्घटनामा तीन जना घाइते भएका छन्। इन्द्रसरोवर गाउँपालिका र मनहरी गाउँपालिकामा भएका दुर्घटनामा मोटरसाइकल तथा अटो संलग्न रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार इन्द्रसरोवर गाउँपालिका–४ स्याउलीबजारस्थित फाखेल–हुमाने सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो। पुरण्डीबाट राकसखोलातर्फ जाँदै गरेको बा ३१ प ४४०० नम्बरको मोटरसाइकल ओरालोमा नियन्त्रण गुमाएर सडकको बायाँ साइडको नालीमा खसेको थियो।

दुर्घटनामा मोटरसाइकल चालक ५५ वर्षीय रामबहादुर गोले र पछाडि सवार उनकी श्रीमती ५० वर्षीया सङ्गीता गोले घाइते भएका छन्। उनीहरूको दाहिने खुट्टा, अनुहार तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते दुवै जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको बताइएको छ। दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरी चौकी फाखेलको नियन्त्रणमा राखिएको छ।

यसैबीच मनहरी गाउँपालिका–८ भलादमी चोकमा अटो र मोटरसाइकल ठोक्किँदा अर्को दुर्घटना भएको छ। ज्यामिरेबाट मनहरीतर्फ आउँदै गरेको ना २ ह ५०७१ नम्बरको अटोलाई पछाडिबाट प्रदेश २–०३–०१२ प ८७६४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा अटोमा सवार मनहरी–९ ज्यामिरेका ७ वर्षीय आवास प्रजा घाइते भएका छन्। बालकलाई मनहरी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि चितवनस्थित पुष्पाञ्जली अस्पताल रिफर गरिएको छ।

घटनापछि अटो चालक ३८ वर्षीय रामशरण मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मोटरसाइकल चालक घटनास्थलबाट फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.