मकवानपुरको दुर्गम मानिने कैलाश गाउँपालिकामा स्वास्थ्य सेवाको पहुँच विस्तार हुने अपेक्षासहित ‘बीपी स्मृति कैलाश आधारभूत अस्पताल’ सञ्चालनमा आएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उक्त अस्पतालको औपचारिक उद्घाटन गरेका हुन्।
संघीय सरकारको ६ करोड ५८ लाख ९९ हजार १ सय ७६ रुपैयाँ लागतमा निर्माण गरिएको अढाई तले अस्पताल भवनमा १० शैयाको व्यवस्था गरिएको छ। अस्पताल निर्माणका लागि आशिष आर्शिवाद स्वामी नारायण जेभीसँग २०७८ जेठ २७ गते सम्झौता भएको थियो भने निर्माण कार्य २०८२ असारमा सम्पन्न भएको हो।
अस्पतालमा दुई जना चिकित्सकसहित कुल २२ जनाको दरबन्दी रहेको छ। जसमा स्टाफ नर्स, अनमी, हेल्थ असिस्टेन्ट, अहेव, कविराज, ल्याब टेक्निसियन, रेडियोग्राफर, फार्मेसी सहायक, डेन्टल हाइजिनिस्ट, प्रशासनिक कर्मचारी, सरसफाइकर्मी र सुरक्षाकर्मीसमेत रहेका छन्। तर हालसम्म भने स्वास्थ्य चौकीकै दरबन्दीअनुसार कर्मचारी कार्यरत रहेको स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमले जानकारी दिए।
नवस्थापित अस्पतालबाट आपतकालीन सेवासहित स्त्रीरोग, बालरोग, दन्तरोग, छाला रोग, आयुर्वेद, आँखाजाँच, प्रयोगशाला, भिडियो एक्स–रे र इसिजी सेवा उपलब्ध गराइने जनाइएको छ।
अस्पताल सञ्चालनमा आएपछि कैलाश गाउँपालिकाका १० वटै वडा तथा छिमेकी राक्सिराङ गाउँपालिकाका वडा नम्बर ४ र ९ का स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित हुने गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए।
२१ हजार ८ सय ५६ जनसंख्या रहेको कैलाश गाउँपालिका मकवानपुरको सदरमुकाम हेटौंडाबाट करिब ४५ किलोमिटर टाढा पर्छ। यसअघि उपचारका लागि स्थानीयलाई हेटौंडा वा मनहरी पुग्नुपर्ने बाध्यता रहेको थियो। अब भने गाउँमै अस्पताल सञ्चालनमा आएपछि स्वास्थ्य सेवामा पहुँच सहज हुने अपेक्षा गरिएको उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले बताए।















































