बस्तिपुर। बस्तिपुर जेसिज मनहरीले आफ्नो १६ औँ स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ। स्थापना दिवसको अवसरमा अन्तरक्रिया तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको थियो।
सन् २०११ मा हेटौंडा जेसिजको मातृत्वमा स्थापना भएको बस्तिपुर जेसिज मनहरीले १६ वर्षको यात्रा पूरा गरेको हो। स्वर्गीय गणेश प्रसाद भेटवालको अध्यक्षतामा स्थापना भएको शाखा हाल वर्ष २०२६ का अध्यक्ष जेसी सुरज बर्तौलाको नेतृत्वमा सञ्चालन भइरहेको छ।
कार्यक्रममा नीर्मल बहुमुखी क्याम्पसका प्रमुख तथा बस्तिपुर जेसिज मनहरी वर्ष २०२६ का बोर्ड सल्लाहकार सुभाष चन्द्र कँडेलको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रम जेसी सुशील सापकोटाको संयोजकत्वमा सम्पन्न भएको हो भने शाखा अध्यक्ष जेसी सुरज बर्तौलाले सभाध्यक्षता गरेका थिए।
सो अवसरमा निवर्तमान अध्यक्ष तथा वर्ष २०२४ का अध्यक्षसहित अन्य पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका क्रममा संस्थापक अध्यक्ष स्वर्गीय गणेश प्रसाद भेटवालको सम्झनामा दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो।
















