निर्वाचन ड्युटी पूरा गरेका प्रहरीलाई हेटौंडामा प्रमाणपत्रसहित बिदाइ

मकवानपुर-प्रतिनिधिसभा निर्वाचनको सुरक्षा व्यवस्थापनमा खटिएका प्रहरी कर्मचारीहरूलाई मकवानपुरमा सम्मानसहित बिदाइ गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुर ले बिहीबार हेटौंडाको हुप्राचौर मा कार्यक्रम आयोजना गर्दै निर्वाचन प्रहरीलाई प्रमाणपत्र प्रदान गरी औपचारिक रूपमा बिदाइ गरेको हो।

निर्वाचन सुरक्षाका लागि विभिन्न स्थानबाट छनोट गरी मकवानपुरमा खटाइएका प्रहरीहरूले मतदान र मतगणना अवधिभर सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि बसन्त अधिकारी ले सुरक्षाकर्मीहरूको सक्रियता र समर्पणले निर्वाचन प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न हुन मद्दत पुगेको बताए। उनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाउन प्रहरीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि राष्ट्र र नागरिकको सुरक्षामा तत्पर रहन आग्रह गरे।

कार्यक्रममा श्यामबहादुर खत्री ले निर्वाचन अवधिभर खटिएका प्रहरीको समर्पण र अनुशासनप्रति आभार व्यक्त गरे। उनले नियमित प्रहरीसँगै निर्वाचनका लागि खटाइएका प्रहरीहरूको सहकार्यका कारण जिल्लामा मतदान प्रक्रिया सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न भएको बताए।

उनका अनुसार निर्वाचन सुरक्षामा काम गर्दा प्राप्त अनुभवले आगामी दिनमा पनि सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर, उपाध्यक्ष हरि हुमागाई लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

निर्वाचन सम्पन्न भएसँगै जिल्लामा खटिएका निर्वाचन प्रहरीलाई क्रमशः आफ्नो कार्यस्थलतर्फ फिर्ता पठाउने प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.