मकवानपुर — भीमफेदी गाउँपालिका–४ निबुवाटारमा एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। वडा कार्यालयको सिलिङ्ग बजेटको सहयोग तथा निबुवाटार स्वास्थ्य चौकीको आयोजनामा शनिबार शिविर सञ्चालन गरिएको हो।
हर्ट फाउन्डेसन मकवानपुरको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा चितवन मेडिकल कलेजका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मनोज कुमार श्रेष्ठसहितको चिकित्सक टोलीले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेको थियो।
शिविरबाट कुल २९३ जनाले विभिन्न स्वास्थ्य सेवा लिएका छन्। परीक्षणका क्रममा पाँच जनामा गम्भीर मुटुरोगको समस्या देखिएको र तीमध्ये एक जनालाई तत्काल शल्यक्रियाका लागि अस्पताल जान सिफारिस गरिएको जनाइएको छ।
यस्तै, महिलाहरूको भीआईए परीक्षणका क्रममा चार जनामा पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन्। शिविरमा ५४ जनाले दाँतसम्बन्धी उपचार र परामर्श समेत प्राप्त गरेका थिए।
वडाध्यक्ष सागर पाण्डेले ग्रामीण क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको बताए। उनले रोगको समयमै पहिचान र उपचारमा सहयोग पुर्याउन यस्तो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
घर नजिकै विशेषज्ञ चिकित्सकबाट निःशुल्क जाँच तथा सुगर, प्रेसर परीक्षण र परामर्श सेवा पाएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन्।























































