हेटौँडा उपमहानगरपालिका–९ अन्तर्गत पर्ने HID क्षेत्र आसपास पछिल्ला केही दिनयता चितुवाको आवतजावत देखिन थालेपछि स्थानीयवासी चिन्तित बनेका छन्।
प्रत्यक्षदर्शीका अनुसार शनिबार राति करिब १०ः१९ बजे हेटौँडा सिमेन्ट रोड नजिकको सडक हुँदै एउटा चितुवा जङ्गलतर्फ जाँदै गरेको देखिएको थियो। सो क्षेत्रमा केही दिनदेखि चितुवा देखिएको सूचना आइरहेको स्थानीयले बताएका छन्।
मानव बस्ती नजिकै जङ्गली जनावर देखिन थालेपछि बासिन्दामा त्रास बढेको छ। यसबारे सम्बन्धित निकाय र सुरक्षाकर्मीलाई जानकारी गराइसकिएको जनाइएको छ।
स्थानीयलाई विशेष गरी रातिको समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन, बालबालिका तथा घरपालुवा जनावरको सुरक्षामा ध्यान दिन र चितुवा देखिएमा नजिक नजान अनुरोध गरिएको छ।
यस विषयमा हेटौँडा–९ का वडा अध्यक्ष सुक्रम केसीसँग सम्पर्क गर्ने प्रयास गरिए पनि फोन सम्पर्क हुन सकेन।
उता डिभिजन वन कार्यालय हेटौँडामा पनि घटनाबारे जानकारी पुगेको र आवश्यक तयारी भइरहेको बताइएको छ। यस्ता घटना देखिएमा तुरुन्तै सम्बन्धित निकायलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।























































