हेटौंडा, ०१ चैत । इनिसा विक हत्याकाण्डका दोषीलाई कडा कारबाहीको माग गर्दै मकवानपुरको हेटौंडामा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।
आइतबार बिहान हेटौंडास्थित विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू सडकमा उत्रिएर न्यायको मागसहित विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा विद्यार्थीहरूले ‘हत्यारालाई कारबाही गर’, ‘पीडितलाई न्याय दे’, ‘बलात्कारीलाई फाँसी दे’ र ‘नारी अस्मिताको रक्षा गर’ जस्ता नाराबाजी गरेका थिए।
हेटौंडा क्याम्पसका विद्यार्थीहरूको नेतृत्वमा भएको प्रदर्शनमा मकवानपुर बहुमुखी क्याम्पस, भुटनदेवी मावि र सिद्धार्थ ल क्याम्पसका विद्यार्थीहरू सहभागी भएका थिए। प्रदर्शनमा करिब ५ सय विद्यार्थीको उपस्थिति रहेको विद्यार्थी नितेश भण्डारीले जानकारी दिए।
सुर्खेतको वीरेन्द्रनगरस्थित एक सामुदायिक वनमा इनिसा विक मृत अवस्थामा फेला परेकी थिइन्। उनको बलात्कारपछि हत्या गरिएको आशंकामा दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेको छ।























































