मकवानपुर जिल्लास्तरीय पुरुष भलिबल सुरु, क्वाटरफाइनलमा ८ टिमको स्थान पक्का

हेटौंडा — हेटौंडा–१० स्थित टिसीएन चौरमा सञ्चालन भइरहेको दोस्रो बृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवअन्तर्गत मकवानपुर जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ। पहिलो दिनको खेलसँगै प्रतियोगिताको क्वाटरफाइनल समीकरण पनि पूरा भएको छ।

लिगकम नकआउट प्रणालीमा खेलाइएको प्रारम्भिक चरणबाट ४ टिम समूह विजेता र ४ टिम उपविजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन्। मकवानपुर जिल्ला भलिबल संघ का सदस्य नरेन्द्र मुक्तान का अनुसार सोमबार बिहान ११ बजेदेखि क्वाटरफाइनल चरणका खेल सुरु हुनेछन्।

आइतबार भएको पहिलो खेलमा मंगलेश्वर युवा क्लब (थाहा नगरपालिका) ले सफल केयर क्लब (हेटौंडा–१५) लाई २५–१४ र २५–१३ को सोझो सेटमा पराजित गरेको थियो।

दोस्रो खेलमा नव प्रतिभा सांस्कृतिक युवा क्लब बज्रबाराही (थाहा–६) ले पशुपती युवा क्लब (हेटौंडा–९) लाई २५–१२ र २५–२१ ले हरायो।

तेस्रो खेलमा मनहरी गाउँपालिका को टिमले मिलन युवा क्लब (हेटौंडा–३) लाई २५–१४ र २५–१८ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो।

त्यसैगरी अन्तिम खेलमा छहारी युवा समाज (हेटौंडा–११) ले प्रतिस्पर्धामा जीत हात पार्दै क्वाटरफाइनलमा स्थान बनाएको छ।

क्वाटरफाइनल खेल तालिका

मंगलेश्वर युवा क्लब 🆚 मिलन युवा क्लब

नव प्रतिभा युवा क्लब 🆚 बागमती गाउँपालिका

मनहरी गाउँपालिका 🆚 सफल केयर क्लब

छहारी युवा समाज 🆚 पशुपती युवा क्लब

मंगलबार सेमीफाइनल र फाइनल खेल हुनेछ भने सेमीफाइनलदेखि ‘बेस्ट अफ ५’ प्रणालीमा खेल खेलाइने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेता टिमले १ लाख रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन्। सेमीफाइनलमा पराजित हुने दुई टिमलाई १५/१५ हजार रुपैयाँ प्रदान गरिनेछ।

साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी, लिब्रो, स्पाइकर, ब्लकर, सर्भर, प्रशिक्षक तथा उदयमान खेलाडीलाई नगदसहित पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

जिल्ला खेलकुद विकास समिति मकवानपुर का अध्यक्ष राजकुमार मोक्तान को सभाध्यक्षता तथा मकवानपुर जिल्ला भलिबल संघ का अध्यक्ष वसन्त सिटौला को प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको थियो।

महोत्सवअन्तर्गत कराँते, तेक्वान्दो तथा महिला भलिबल लगायतका खेलहरू पनि सञ्चालन हुने जानकारी आयोजकले दिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.