हेटौंडा — बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव झलकराम अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार अधिकारीले राजस्व अनुसन्धान विभागको महानिर्देशक रहेका बेला ७० लाख रुपैयाँ घुस लिएको आरोप छ। उक्त रकम राजस्व चुहावटको मुद्दाबाट जोगिन खोजिरहेका एक व्यवसायीबाट लिएको दाबी गरिएको छ।
आयोगको अनुसन्धानले देखाएअनुसार, एच.के. इन्टरप्राइजेजविरुद्ध परेको राजस्व चुहावटको उजुरी मिलाउन कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठबाट रकम लिएको आरोप अधिकारीमाथि लगाइएको छ। प्राप्त रकम विभिन्न व्यक्तिको खातामा राखी त्यसलाई जग्गा खरिद र ऋण भुक्तानीमा प्रयोग गरिएको अनुसन्धानबाट खुलेको अख्तियारको भनाइ छ।
अख्तियारले उक्त रकम भक्तपुरस्थित दिव्यश्वरी आयोजनाभित्र पाँच आना जग्गा खरिद गर्न तथा एक रिसोर्टको कर्जा तिर्न प्रयोग भएको दाबी गरेको छ।
घटना २०७९ साल साउनतिरको भएको बताइएको छ। अधिकारी २०७९ असारदेखि कात्तिकसम्म राजस्व अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारीमा थिए।
यसअघि पनि अधिकारी विभिन्न विवादमा मुछिँदै आएका छन्। अध्यागमन विभागको महानिर्देशक हुँदा सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक दावा छिरिङसँग सम्बन्ध देखिएको आरोप लागेपछि उनलाई मन्त्रालयमा तानिएको थियो।
यस्तै, सुन तस्करीबारे छानबिन गर्न बनेको आयोगले पनि उनीमाथि कारबाही सिफारिस गरेको थियो। त्यतिबेला विच्याट एपमार्फत सामान छुटाउने सम्बन्धमा उनी र दावा छिरिङबीच पटक–पटक संवाद भएको विवरण सार्वजनिक भएको थियो।
अधिकारीको भूमिकामाथि संसदीय समितिले समेत प्रश्न उठाएको थियो। अध्यागमन विभागमा कार्यरत रहँदा भएका केही गतिविधिका कारण जीवी राई नेपालबाट फरार हुन सकेको उल्लेख प्रतिवेदनमा गरिएको थियो।
यसअघि २०७५ सालमा पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा पनि उनी टेन्डरसँग सम्बन्धित विवादमा तानिएका थिए।























































