हेटौंडा–१० स्थित टिसीएन चौरमा जारी दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत मकवानपुर जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगितामा मंगलेश्वर युवा क्लब फाइनलमा प्रवेश गरेको छ।
मंगलबार बिहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा थाहा नगरपालिका–२ को मंगलेश्वर युवा क्लबले थाहा नगरपालिका–६ को नव प्रतिभा सांस्कृतिक युवा क्लब बज्रबाराहीलाई सोझो तीन सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो। मंगलेश्वरले २५–१९, २५–१८ र २५–१४ को नतिजासहित सहज जित हात पारेको थियो।
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा मनहरी गाउँपालिका र छहारी युवा सेवा समाजबीच प्रतिस्पर्धा भइरहेको छ। यस खेलको विजेताले फाइनलमा मंगलेश्वर युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
फाइनल खेल दिउँसो २ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन्।
यस्तै, प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ तथा अन्य विधागत उत्कृष्ट खेलाडीहरूलाई जनही २ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।























































