काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ मन्त्रिपरिषद् गठनको तयारी तीव्र बनाएको छ। पार्टीभित्र करिब १८ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने गरी आन्तरिक छलफल अघि बढाइएको छ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले मन्त्रिपरिषद् सानो, चुस्त र परिणाममुखी बनाउने लक्ष्यसहित संख्या सीमित राख्ने प्रयास भइरहेको जानकारी दिए। उनका अनुसार मन्त्रालयहरूको पुनर्संरचना गर्ने विषयमा पनि गम्भीर छलफल भइरहेको छ।
केही मन्त्रालय गाभ्ने, दोहोरो जिम्मेवारी दिने तथा कार्यक्षमता बढाउने विकल्पहरूबारे पार्टीभित्र बहस जारी छ। यद्यपि मन्त्रालयको संख्या र मन्त्रीहरूको नाम भने अझै टुंगो लागेको छैन।
यसैबीच, वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन हुने तयारी अन्तिम चरणमा पुगेको स्रोतले जनाएको छ। चैत १३ गते प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रम तय गरिएको र सोही अवसरमा मन्त्रिपरिषद्का सदस्यहरूले पनि शपथ लिने तयारी गरिएको छ।
रास्वपाले सानो, चुस्त र कार्यसम्पादनमुखी सरकार गठनमार्फत प्रशासनिक खर्च घटाउने र निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने लक्ष्य राखेको जनाएको छ।























































