प्रतिनिधिसभा निर्वाचनपछि ६ राजनीतिक दलले राष्ट्रिय मान्यता प्राप्त गरेका छन्। कानुनी प्रावधानअनुसार प्रत्यक्षतर्फ कम्तीमा १ सिट र समानुपातिकतर्फ कुल सदर मतको ३ प्रतिशत प्राप्त गर्ने दललाई मात्र यस्तो मान्यता दिइन्छ।
यसपटक राष्ट्रिय मान्यता पाउने दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन्। यीमध्ये केही दलले उल्लेख्य सिट जिते पनि सबैले समान सुविधा भने पाउने छैनन्।
सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ अनुसार प्रतिनिधिसभामा १० भन्दा बढी सदस्य भएका दलले मात्र “प्रमुख सचेतक” नियुक्त गर्न पाउने व्यवस्था छ। यही कारणले श्रम संस्कृति पार्टी (७ सिट) र राष्ट्रिय प्रजातन्त्र पार्टी (५ सिट) ले राष्ट्रिय मान्यता पाए पनि प्रमुख सचेतकको सुविधा पाउने मापदण्ड पूरा गर्न सकेनन्।
अर्कोतर्फ, ठूलो दलका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट जित्दै पहिलो स्थान हासिल गरेको छ। नेपाली कांग्रेसले ३८, नेकपा एमालेले २५ र नेपाली कम्युनिस्ट पार्टीले १७ सिट प्राप्त गरेका छन्।
१० भन्दा बढी सिट भएका दलका प्रमुख सचेतकले सरकारी सवारी, दुई चालक, कार्यालय, कर्मचारी, अतिथि सत्कार खर्च (मासिक १५ हजार) र स्वकीय सचिव राख्ने सुविधा पाउने व्यवस्था रहेको छ।















