बागमती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा नयाँ अभियान अघि सार्दै “एक जिल्ला, एक स्वस्थ सहर” कार्यक्रम लागू गर्ने तयारी गरेको छ। यस अभियानअन्तर्गत प्रदेशका सबै १३ जिल्लामा कम्तीमा एक सहर वा पालिकालाई नमूना स्वस्थ सहरका रूपमा विकास गरिनेछ।
प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरका अनुसार यो पहल केवल घोषणा मात्र नभई व्यवहारिक कार्यान्वयनमा केन्द्रित हुनेछ। त्यसका लागि जनस्वास्थ्य कार्यालय प्रमुख, जिल्ला अस्पतालका प्रतिनिधि तथा सरोकारवाला निकायसँग छलफल र अभिमुखीकरणसमेत सम्पन्न भइसकेको छ।
अभियानको मुख्य उद्देश्य जिल्लास्तरमै स्वास्थ्य सेवा सुदृढ बनाउनु, नागरिकको जीवनस्तर उकास्नु र स्वच्छ तथा सुरक्षित वातावरण सुनिश्चित गर्नु हो। यसले स्थानीय तहमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने र आधारभूत पूर्वाधार मजबुत बनाउने अपेक्षा गरिएको छ।
स्वास्थ्य मन्त्रालयका सचिव सुमित्रा गौतमले यो कार्यक्रमलाई परिणाममुखी बनाउने लक्ष्य राखिएको बताउँदै स्वास्थ्य सेवाको गुणस्तर सुधार, प्रविधिको प्रयोग र जनचेतना अभिवृद्धिलाई प्राथमिकतामा राखिएको जानकारी दिइन्।
उनका अनुसार अब नागरिकले आफ्नै जिल्लामा सहज रूपमा उपचार पाउने वातावरण बनाउन अस्पतालहरूलाई आवश्यक उपकरण र प्रविधिसहित सुदृढ बनाइनेछ। बागमती प्रदेशलाई स्वास्थ्य क्षेत्रमा नमूना प्रदेश बनाउने दीर्घकालीन लक्ष्यसहित यो अभियान अघि बढाइएको हो।























































