डढेलो नियन्त्रणका लागि मकवानपुरमा पूर्वतयारी तीव्र

हेटौंडा — वन डढेलोको उच्च जोखिममा रहने जिल्लामध्ये पर्ने मकवानपुरमा यस वर्ष भने डढेलो नियन्त्रण प्रभावकारी देखिएको छ। डिभिजन वन कार्यालयको सक्रिय तयारी, जनचेतना कार्यक्रम र आधुनिक प्रविधिको प्रयोगका कारण हालसम्म ठूलो क्षति हुन नपाएको जनाइएको छ।

कार्यालयले ‘वन डढेलो व्यवस्थापन सप्ताह’ का अवसरमा जानकारी दिँदै विगतको तुलनामा यस वर्ष डढेलोबाट हुने क्षति निकै कम भएको उल्लेख गरेको छ। गत वर्ष फागुनदेखि जेठसम्म ५७४ हेक्टरभन्दा बढी वन क्षेत्र प्रभावित भएकोमा यस वर्ष चैतसम्म आइपुग्दा करिब ५ हेक्टर क्षेत्रमा मात्रै डढेलो लागेको र समयमै नियन्त्रणमा लिइएको छ।

डढेलो नियन्त्रणका लागि ३७ किलोमिटरभन्दा बढी अग्निरेखा सफाइ, थप नयाँ अग्निरेखा निर्माण, वन हेरालुको परिचालन तथा ‘लिफ ब्लोअर’ जस्ता उपकरण प्रयोग गरिएको छ। साथै, पानीको अभाव हुन नदिन विभिन्न स्थानमा पोखरी निर्माणको काम पनि भइरहेको छ।

जोखिमपूर्ण समयलाई ध्यानमा राख्दै प्रत्येक सामुदायिक वनमा निगरानी बढाइएको छ भने डढेलो नियन्त्रणमा खटिने जनशक्तिका लागि ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा पनि सुनिश्चित गरिएको छ।

वन कार्यालयका अनुसार मानवीय लापरबाही, सुख्खा मौसम र बढ्दो तापक्रम डढेलोका प्रमुख कारण भएकाले समुदायस्तरमै सचेतना फैलाउन आवश्यक छ। आगामी दिनमा जोखिम बढ्न सक्ने आँकलन गर्दै नियमित गस्ती, उद्धार टोली र स्थानीय समन्वयलाई अझ सुदृढ बनाइने योजना अघि सारिएको छ।

कार्यक्रममा सहभागीहरूले वन संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गर्दै वन क्षेत्रमा जथाभावी आगो नबाल्न र डढेलो देखिएमा तुरुन्त सम्बन्धित निकायलाई खबर गर्न आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.