देशका विभिन्न क्षेत्रमा आज मौसम आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ प्रभावित हुन सक्नेछन्।
पहाडी तथा हिमाली भेगमा बदली बढ्ने अनुमान गरिएको छ भने कोशी र गण्डकीका केही स्थान तथा बागमती र लुम्बिनीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने बताइएको छ। तराई क्षेत्रमा भने मौसम मुख्यतः सफा रहने सम्भावना छ।
मौसममा आएको परिवर्तनको मुख्य कारण पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभाव रहेको मौसमविद्ले जनाएका छन्। यसले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था सिर्जना गरेको छ।
काठमाडौं उपत्यकामा आज आंशिक बदली रहने भए पनि वर्षाको सम्भावना भने न्यून रहेको छ। रातिको समयमा सुदूरपश्चिमसहित पहाडी तथा हिमाली क्षेत्रमा बदली कायमै रहने पूर्वानुमान गरिएको छ।















