काठमाडौँमा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्दैछ। बैठक दिउँसो ४ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आयोजना हुने तय गरिएको छ। यसपछि तुरुन्तै संसदीय दलको बैठक पनि बस्ने कार्यसूची छ।
बैठकमा मुख्य रूपमा संसदीय दलको नेता चयन गर्ने एजेण्डा रहेको छ। पार्टीका सचिवालय सदस्य गणेश पराजुलीका अनुसार यसअघि भएको ७ बुँदे सहमति अनुसार बालेन शाहलाई संसदीय दलको नेतामा चयन गर्ने तयारी गरिएको छ।
उक्त सहमति गत पुस १३ गते रवि लामिछाने र बालेनबीच भएको थियो, जसअनुसार लामिछाने पार्टी सभापति रहने र बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने उल्लेख गरिएको थियो।
यसैबीच, नवनिर्वाचित सांसदहरूले आज सिंहदरबारस्थित संसद भवनमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ। रास्वपाले बहुमत ल्याएको अवस्थामा, बालेन शाहलाई संसदीय दलको नेता चयन गरी राष्ट्रपतिसमक्ष जानकारी गराउने तयारी छ।
संविधानको धारा ७६(१) अनुसार, बहुमत प्राप्त दलको संसदीय दलका नेता नै प्रधानमन्त्री नियुक्त हुने व्यवस्था भएकाले बालेन शाहलाई प्रधानमन्त्री बनाउने प्रक्रिया अघि बढाइने बताइएको छ। शुक्रबार उनी प्रधानमन्त्रीको रूपमा शपथ लिने तयारी रहेको छ।















