मकवानपुर — बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले स्रोतको आकलन र मूल्याङ्कन सक्दै बजेट तयारीको काम सुरु गरेको जनाएको छ।
बजेट स्रोत व्यवस्थापन समितिको बैठकले प्रदेशको वर्तमान आर्थिक अवस्थाको समीक्षा गर्दै आगामी बजेटको आकार र प्राथमिकताबारे प्रारम्भिक खाका तयार पारेको छ। समिति प्रभात तामाङको नेतृत्वमा रहेको छ।
प्रारम्भिक अनुमानअनुसार आगामी वर्षको बजेट चालु आर्थिक वर्षभन्दा उल्लेख्य रूपमा घट्ने देखिएको छ। मन्त्री तामाङका अनुसार करिब १७ अर्ब रुपैयाँ (२५.८९ प्रतिशत) ले बजेट घट्ने प्रक्षेपण गरिएको छ।
प्रदेश सरकारले आगामी वर्ष करिब ५० अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ, जबकि चालु वर्ष ६७ अर्ब ४७ करोड रुपैयाँको बजेट कार्यान्वयन भइरहेको छ। स्रोत सङ्कुचनका कारण ठूलो आकारको बजेट ल्याउन कठिन भएको जनाइएको छ।
राजस्व बाँडफाँटबाट आउने आम्दानी बजेटको प्रमुख आधार रहने अनुमान छ, जसबाट करिब ३० अर्ब ८९ करोड रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। त्यस्तै, सङ्घीय अनुदानतर्फ १३ अर्ब ८१ करोड रुपैयाँ आउने प्रक्षेपण गरिएको छ भने आन्तरिक स्रोतबाट करिब ४ अर्ब १२ करोड रुपैयाँ मात्र संकलन हुने देखिएको छ।
चालु आर्थिक वर्षपछि करिब ५ अर्ब रुपैयाँ मात्र नगद मौज्दात बाँकी रहने अनुमानका कारण बजेटको आकार घटाउनुपर्ने अवस्था आएको मन्त्री तामाङले बताएका छन्।















