हेटौंडा–नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ आज ७१औँ वर्षमा प्रवेश गरेको छ। स्थापना दिवसको अवसरमा हेटौंडामा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति र महासंघ मकवानपुरको संयुक्त आयोजनामा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ।
स्कुलरोडबाट सुरु भएको र्याली बुद्धचोक, मकवानपुर उद्योग वाणिज्य संघ हुँदै सिमाचारकमा कोणसभामा परिणत भएको थियो। कार्यक्रममा जिल्लास्थित पत्रकार, सञ्चारकर्मी तथा सरोकारवाला व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो। पत्रकारहरूले प्रभातफेरीमार्फत पेशागत एकता, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताको सन्देश प्रवाह गरेका थिए।
महासंघ अध्यक्ष निर्मला शर्माले विज्ञप्ति मार्फत पत्रकार, सञ्चारकर्मी तथा प्रेस स्वतन्त्रताका पक्षधर सबैमा शुभकामना व्यक्त गर्दै सात दशक लामो इतिहास बोकेको महासंघले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको हितमा निरन्तर काम गर्दै आएको उल्लेख गर्नुभएको छ। उहाँले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै मिथ्या सूचना प्रवाह बढेको र पाठकलाई तथ्यपरक सूचना प्रवाह गर्नु चुनौतीपूर्ण भएको बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्णसारु मगरले पत्रकारिताको जिम्मेवारी स्मरण गराउँदै जनतालाई सही सूचना प्राप्त गराउने दायित्व सुनिश्चित गर्न सबै पत्रकारमा अपिल गर्नुभयो। महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले मानव अधिकारको संरक्षण, नागरिकको सूचना पहुँच र सार्वजनिक सरोकारका विषयमा पत्रकारहरूको निरन्तर भूमिका उल्लेख गर्नुभयो।
कार्यक्रममा संस्थापक अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष हरि हुमागाई, मकवानपुर साखाका पूर्व अध्यक्ष राममणि दाहाललगायतको आतिथ्यता रहेको थियो।
महासंघले नवयुवाको आन्दोलनका समयमा निशानामा परेका सञ्चारगृह र दुर्घटनामा परेका पत्रकारको क्षतिपूर्ति दिलाइ मनोबल बढाउन सरकारसँग आग्रह गरेको छ। साथै रोकिएका सञ्चारसम्बन्धी कानुन र आवश्यक कानुन ल्याउनका लागि महासंघले सक्रिय भूमिका खेलिरहेको छ।
नेपाल पत्रकार महासंघले यस ७१औँ वर्षमा प्रवेश गर्दै पत्रकारितामा जिम्मेवार र तथ्यपरक सूचना प्रवाहका लागि आफ्नो प्रतिबद्धता पुन: दोहोर्याएको छ।























































