महिनावारी प्रत्येक महिलामा फरक–फरक ढंगले अनुभव हुन्छ। केही महिलामा हल्का रक्तश्राव मात्र हुन्छ भने कतिपयमा धेरै मात्रामा रगत बाहिर आउँछ। यस क्रममा साना–ठूला रक्तका ढिक्का देखिनु पनि सामान्य घटना हो, तर बारम्बार वा अत्याधिक मात्रामा देखिएमा स्वास्थ्य सतर्कता आवश्यक हुन्छ।
महिनावारीको पहिलो १–२ दिनमा साना ढिक्का आउनु सामान्य मानिन्छ। गर्भाशयको भित्री तह हरेक महिना तयार हुन्छ र गर्भ रहन नसकेपछि बाहिर निस्कँदा रगतसँगै थोरै थोरै ढिक्का देखिन सक्छ। साना आकारका ढिक्का (मटरको दाना वा सिक्का जत्रो) सामान्य हुन्छन् र दैनिक जीवनमा असर नगर्दा चिन्ता गर्नु पर्दैन।
तर ठूला वा बारम्बार आउने ढिक्का, हरेक १–२ घण्टामा प्याड/ट्याम्पोन पूरै भिज्ने, ७ दिनभन्दा बढी महिनावारी रहने, र अचानक चक्र परिवर्तन हुनु जस्ता लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिनु जरूरी हुन्छ। यसले भारी रक्तश्राव, एनिमिया, फाइब्रोइड, पोलिप्स, एन्डोमेट्रियोसिस वा हर्मोनल असन्तुलन जस्ता समस्या संकेत गर्न सक्छ।
महिनावारीका दौरान दुखाइ कम गर्न हल्का व्यायाम, तातो पानीको सेक लाभदायक हुन्छ। धुम्रपान र मदिरा सेवन नगर्नु स्वास्थ्यका लागि उत्तम उपाय हो। यदि दुखाइ असह्य छ वा अन्य जटिल लक्षण देखिएमा चिकित्सकको परामर्श लिनु उपयुक्त हुन्छ।
यसरी महिलाले आफ्नो महिनावारी स्वास्थ्य र लक्षणलाई निगरानी राखेर गम्भीर समस्या देखा पर्नु अघि नै उपचार सुरु गर्न सक्छन्।























































