मकवानपुरमा ट्रक दुर्घटना हुँदा त्रिभुवन राजपथ पूर्ण रूपमा अवरुद्ध भएको छ।
आज बिहान करिब १:३० बजे मकवानपुरको थाहा नगरपालिका–१२, टिष्टुङ क्षेत्रमा काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ट्रक अनियन्त्रित भई सडकमै पल्टिएको हो।
प्रहरीका अनुसार बा.प्र.०३–००१ ख १७५० नम्बरको ट्रकको अगाडिको दाहिने पट्टा भाँचिएपछि दुर्घटना भएको हो। ट्रक सडकमा पल्टिएसँगै राजपथ पूर्ण रूपमा बन्द भएको छ।
दुर्घटनामा चालक धादिङ बेनिघाट रोराङ गाउँपालिका–२ निवासी अन्दाजी २७ वर्षीय धुर्व घले घाइते भएका छन्। ट्रकबाट हाम फाल्दा उनको दाहिने खुट्टाको पौतालामा सामान्य चोट लागेको छ। उनलाई उपचारका लागि पालुङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको छ। दुर्घटनाग्रस्त ट्रक हटाउने काम भइरहेको भए पनि हालसम्म सडक खुल्न सकेको छैन।
प्रहरीले राजपथ छिट्टै सञ्चालनमा ल्याउने प्रयास भइरहेको जानकारी दिएको छ।























































